
काठमाण्डु, १३ असार– डिल्लीबजार सदरखोरमा ठूलालाई चैन र सानालाई ऐन लागू हुने गरेको रहस्य खुलेको छ । ठूला कैदीबन्दीलाई भेट्न दिनको सात पटकसम्म जेलरको मिलेमतोमा भेट दिने गरिएको खुलेको छ ।
प्रहरीले सुनचाँदी, नगद र चेकसहित पक्राउ गरेका जनकपुरका बलराम गुप्तालाई उनका दुई छोरा अमित र सुमित गुप्तालाई निर्वाध दिनहुँ तीन पटकसमम भेट दिने गरिएको खुलेपछि यो मुद्दामा ठूलो चलखेल भएको आशंका गरिएको आजको कमान्डर पोस्ट दैनिकले समाचार छापेको छ ।
बलरामको अवैध सम्पत्ति छोराको बैंक खातामा रहेको तथ्थ समेत खुलेको छ । बलराम दूई महिनाअघि जनकपुरसिथत आफ्नै पसलमा ६ किलो सुन र ४ सय चाँदी, ७३ लाख रुपैयाँ नगद र ६० लाखको चेकसहित पक्राउ परेका थिए ।
महानगरीय अपराध महाशाखा काठमाडौं र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले बलरामसहित उनका सहयोगी सुधीर शाहलाई पनि पक्राउ गरेको थियो ।
दुवैजनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले डिल्लीबजारस्थित सदरखोरमा राखेर मुद्दा चलाएको छ ।
तर प्रहरीले उनलाई पक्राउ गर्दा जुन पसलमा सुन र चाँदी थियो, त्यो पसलबाट करोडौँ रकम लिने र किन्ने मालिकलाई अनुसन्धान नगरिएको हुँदा गुप्ताको अनुसन्धान नै प्रभावित हुने अवस्थामा पुगेको छ ।