दश लाख नेपाली लागुऔषधको कुलतामा

काठमाण्डु टुडे २०७१ असार १२ गते १६:१३ मा प्रकाशित

काठमाडौा, १२ असार– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले लागुपदार्थ प्रयोगकर्तालाई सार्वजनिक अपमान तथा दण्ड नदिई वैज्ञानिक उपायद्वारा लागुपदार्थसम्बन्धी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय लागुपदार्थविरुद्धको दिवसका अवसरमा सारथी नेपालले बिहीबार गरेको कार्यक्रममा उनले लागुपदार्थ प्रयोगले स्वास्थ्यमा जोखिम निम्त्याउने भएकाले उक्त समस्या कम गर्न सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षामा सुधार ल्याउनुपर्नेमा जोड दिए ।

अधिकारकर्मी राजेश शाक्यले लागुपदार्थ प्रयोककर्तालाई लागुपदार्थबाट अलग बनाउन नेपालले गरेको सुधारात्मक कामलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

सारथी नेपालका कार्यक्रम प्रमुख रविकृष्ण श्रेष्ठले युवा वर्गमा बढ्दै गएको लागुपदार्थ प्रयोगका कारणले हुने दुर्घटना कम गर्न सरकारले विशेष नीति बनाउनुपर्ने सुझाव दिए ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हाल एक करोडदेखि दुई करोडले सुईको माध्यमबाट लागुपदार्थ प्रयोग गर्ने गरेका छन् । प्रयोगकर्तालाई एचआइभी, क्षयरोग तथा हेपाटाइटिसको सङ्क्रमण उच्च छ ।

सारथी नेपालले गरेको अध्ययनले नेपालमा करिब १० लाख व्यक्तिले लागुपदार्थको प्रयोग गर्ने गरेको देखाएको छ । प्रयोग गर्नेमा बढी महिला, बालबालिका, किशोरकिशोरी तथा युवा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us