ओलीले अख्तियार दुरुपयोग गरेको नेपाल पक्षको आरोप

काठमाण्डु टुडे २०७१ असार १२ गते १६:०१ मा प्रकाशित

kp- madhavकाठमाण्डु, १२ असार– एमालेमा आसन्न नवौं महाधिवेशनमा खटाइने स्वयंसेवक छनोटमा चर्को विवाद भएको छ ।
पार्टी मुख्यालय बल्खुमा बिहीबार बसेको महाधिवेशन मुल व्यवस्थापन समिति सचिवालयको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एकपक्षीय रुपमा स्वयम् सेवक छनोट गरिएको भन्दै आपत्ति जनाएको हो ।

अध्यक्षका अर्का प्रत्यासी केपी ओली समूहबाट मात्र स्वयंसेवक छनोट गरिएको नेपाल पक्षको आरोप छ । यस्तै बैठकमा केपी ओली पक्षले अख्तियारको दुरुपयोग गरेको विषयमा कुरा उठेको सचिवालयका सदस्य एवम नेपाल पक्षीय युवा नेता योगेश भट्टराईले जानकारी दिए ।

नेपाल पक्षले चर्को विरोध जनाएपछि सचिवालयले ओली पक्षले गरेको भनिएको अख्तियार दुरुपयोगबारे छानबिन समिति गठन गरेको छ । समितिमा विष्णु पौडेल, राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र रामनाथ ढकाल छन् ।

नेपाल पक्षले एक साताअघि बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा गरेको पत्रकार सम्मेलनमा ओलीले वितरण गरेको प्रेस वक्तव्यमा पार्टीको लेटर प्याड र छाप दुरुपयोग भएको भन्दै आपत्ति जनाएको हो । नेपाल पक्षीय सचिवालयका सदस्यहरु भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतले पार्टीको लेटरप्याड र छाप दुरुपयोग भएकामा चर्को विरोध जनाएका थिए ।

नेपाल पक्षले विरोध जनाएपछि ओली पक्ष प्रतिवादमा उत्रिंदा बैठकमा केहीबेर चर्काचर्की भएको थियो । बैठकमा सहभागी अध्यक्ष झलनाथ खनालले छानबिनबाट अख्तियारको दुरुपयोग भएको पुष्टि भए कारबाही हुने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us