विभिन्न सवारी दुर्घटनामा ४ को मृत्यु

काठमाण्डु टुडे २०७१ असार १२ गते १२:१८ मा प्रकाशित

ललितपुर, १२ असार – ठैबस्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बीरबहादुर मगरलाई असार बुधबार ठक्कर दिंदा घाइते भएकोले उपचारको लागि पाटन अस्पतालबाट थप उपचारको लागि वीर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने मोटसाइकलसहित चालक फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।

जुम्ला – वर्की–१ स्थित नाम्मा–मुगु कच्ची सडक खण्डमा ध.१ ख ४३५ नम्बरको मिनीट्रकले बर्की–३ बस्ने सावित्री बमको छोरा ३ वर्षीय कृष बमलाई बिहिबार ठक्कर दिंदा निजको घटनास्थलमै मृत्यु भएको छ । मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्युठान – नारीकोट–२ स्थित सडकमा रा.१ त १६१९ नम्बरको ट्याक्टर बुभबार अचानक सडकबाट अन्दाजी १० मिटर तल खस्दा भएको दुर्घटनामा ट्याक्टर चालक ओखरकोट–१ बस्ने २५ वर्षीय सुरेन्द्र जि.सी. घाइते भएकोमा उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बाँके – कोहलपुर नगरपालिका–४ रोहिणीखोलामा लु.१ ख ४७८९ नम्बरको ट्रकले भे.१ त ४११२ नम्बरको ट्याक्टर र रिक्सासमेतलाई बिहिबार बिहान ठक्कर दिई दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका रिक्सा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

रिक्सामा सवार कालीकोट जिल्ला चिलखया–१ बस्ने ७५ वर्षीय लालबहादुर ढकाल घाइते भएकोले उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको र अबस्था गम्भीर रहेको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us