बेपत्ता इन्जिनियरहरुको शव फेला पर्‍यो

काठमाण्डु टुडे २०७१ असार १२ गते ११:१४ मा प्रकाशित

बैतडी, १२ असार – बुधबार सडकबाट चमेलिया नदीमा गाडी खसेर बेपत्ता भएका हेलो नेपाल मोबाइल कम्पनीका दुई इन्जिनियरको शव फेला परेको छ ।

बैतडीको सित्तडमा दुर्घटना भएर चमेलियामा खसेको गाडीमा सवार इन्जिनियर अतुल केसी र शैलेन्द्र खड्काको शव दुर्घटनास्थलभन्दा तीन किलोमिटर तल जाडाबगरमा फेला परेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस तथा स्थानीय बासिन्दा हराइरहेका दुवै जनाको खोजी कार्यमा जुटेका थिए ।

दुर्घटना भएको ३२ घण्टापछि शवहरु फेला परेको र शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी ल्याइएको बैतडीका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए ।

नदीबाट दुर्घटनाग्रस्त गाडी दिउँसो १२ बजेतिर निकालिएको थियो । गाडी निकालेपछि शवहरु चमेलिया र महाकाली नदीको दोभानभन्दा एक किलोमिटर पूर्वमा उद्धारकर्मीले फेला पारेको प्रहरीले बताएको छ ।

बुधबार बिहान ८ः३० बजे दार्चुलाबाट बैतडी आउँदै गर्दा बा७च २८५० नम्बरको स्कारपियो गाडी सडकबाट ५० मिटर तल चमेलिया नदीमा खसेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us