पाँच हजार चोरेर घरबाट भागेकी युवती सुनौली नाकामा भेटिइन्

काठमाण्डु टुडे २०७१ असार १२ गते ४:२४ मा प्रकाशित

चितवन, १२ असार– जिल्लाको जगतपुरकी एक युवती सुनौलीस्थित भारत प्रवेश गर्ने नाकामा भेटिएकी छन् ।
परिवारले बालिका हराएका जानकारी दिएपछि विभिन्न संघसंस्थाले खोजी गर्ने क्रममा भारत प्रवेश गर्न लाग्दा सुनौली नाकाबाट उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यही असार ४ गते स्कुल गएकी अप्सरा अधिकारी साँझ घर नफर्किएपछि  हराएको थाहा भएको थियो । लक्ष्मी उच्चमावि जगतपुरमा कक्षा १० मा पढ्ने उनले आफूलाई साथीले भारत जान भनेपछि गएको बताएकी छन् ।
घरबाट पाँच हजार चोरेर भागेकी अप्सरालाई गाडी चढाउनसमेत सँगै पढ्ने साथी नीतु दराईंले सहयोग गरेको उनले बताइन् ।

उक्त दिन सुनौली नाकामा बालिका एक्लै भारततर्फ जान हिंडेको देखेपछि नाकामा रहेका केआई नेपालका महिलाहरुले भेटेका थिए । उनीसँग सोधपुछ गर्दा एक्लै भारत जान लागेको खुलेपछि बेचबिखनको योजना हुनसक्ने भन्दै उनलाई फर्काइएको थियो । पाँच दिन केआई नेपालको आश्रयमा बसेकी अप्सरा सञ्चारमाध्यममा समाचार आएपछि मात्रै घरको सम्पर्कमा आएकी आमा गङ्गादेवीले बताइन् ।

जिल्ला प्रहरी कार्यालयले अहिले उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ । उनलाई भारत जान अटो (डायरी) भरेर पठाउने अर्की बालिकाको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us