एमाओवादीले संविधानसभाभित्र पनि मोर्चाबन्दी गर्ने

काठमाण्डु टुडे २०७१ असार १२ गते ३:१४ मा प्रकाशित

काठमाण्डु, १२ असार–मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहति संविधानसभा बाहिरका दलसँग कार्यगत एकताको गृहकार्यमा जुटेको एकीकृत माओवादीले संविधानसभाभित्र रहेका पहिचानसहितको संघीयता पक्षधरहरुको मोर्चा बनाउने भएको छ ।
maoist flag
लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ निवासमा बिहीबार बिहान बसेको बैठकले संविधानसभाभित्र साझा मुद्धा बोकेका दलहरुबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति भएको हो ।

बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले परिवर्तन चाहने शक्तिहरुबीच संविधानसभाभित्र मोर्चा बनाउने विषयमा सैद्धान्तिक सहमति भएको जानकारी दिए । उनले दलहरुबीच आन्तरिक छलफल गरेर आगामी असार १८ गते फेरि बैठक बस्ने र सोही दिन निष्कर्षमा पुगिने बताए । उनले संविधानसभामा परिवर्तनविरोधी शक्ति हाबी भएकाले मोर्चाको आवश्यकता रहेको निष्कर्षमा आफूहरु पुगेको उल्लेख गरे ।
बैठकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा आवद्ध एमाओवादीसहित मधेसी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा, सदभावना र संघीय समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।
संविधानसभा बाहिर रहेका नेकपा–माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी र परि थापा नेतृत्वको नेकपा एकीकृतसँग मोर्चाबन्दीको तयारीमा रहेको एमाओवादीले संविधान निर्माणमा आफूसँग एजेण्डा मिल्ने दलसँग संविधानसभाभित्र मोर्चाबन्दी गर्न लागेको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us