ओली पक्षद्वारा झलनाथलाई अध्यक्ष प्रस्ताव

काठमाण्डु टुडे २०७१ असार ११ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, ११ असार– नेकपा एमालेको केपी शर्मा ओली पक्षले दोश्रो कार्यकालका लागि अध्यक्ष बन्न झलनाथ खनाललाई आग्रह गरेको छ ।
jn khanalसो पक्षका सचिव विष्णु पौडेलले बुधबार खनाललाई उनकै निवास डल्लुमा भेटेर सर्वसम्मत अध्यक्ष बन्न प्रस्ताव गरेको एमाले उच्च स्रोतले काठमाण्डु टुडेलाई बतायो ।

स्रोतका अनुसार बुधबारसम्म चयन भएका १८ सय २४ प्रतिनिधिमा अध्यक्षका अर्को दाबेदार माधव नेपाल पक्षको पल्लाभारी छ । ओली पक्षले नै तयार पारेको प्रतिनिधिको गोप्य सूचीमा नेपाल पक्षका प्रतिनिधि २ सयले बढी छन् ।

निर्वाचन भएको अवस्थामा आफू पराजित हुने भएपछि नेपाललाई अध्यक्ष बन्नबाट रोक्न ओली पक्षले खनाललाई उक्साएको दाबी स्रोतको छ ।
‘अर्को कार्यकालका लागि पनि तपाईं नै सर्वसम्मत अध्यक्ष बनिदिनुपर्‍यो’, पौडेलको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘हामी तपाईंलाई सहयोग गर्न तयार छौं ।’

जवाफमा खनालले सोचेर निर्णय दिने बताएका छन् । महाधिवेशन मिति नजिकिए पनि खनाल अहिलेसम्म तटस्थजस्ता देखिएका छन् । तर सर्वसम्मत हुने अवस्थामा अध्यक्ष दोहोर्‍याउने चाहना उनले देखाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us