काठमाण्डु, १० असार –संविधानसभा बैठक संविधानसभा बैठकमा आजपनि तत्कालिन व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिको प्रतिवेदनमा रहेका सहमति र असहमतिका विषयमा छलफल हुनेछ ।
हिजोबाट छलफल सुरु भएको थियो । आज पनि सोही विषयमा संविधानसभाको बैठकमा छलफल हुने कार्यक्रम तय भएको छ । बैठकमा बोल्ने अधिकांश सभाषदहरुले केन्द्रमा दुई र प्रदेशमा एक सदनसहितको व्यवस्थापिका–संसद्को व्यवस्था, शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात् गर्ने खालको अधिकार सम्पन्न व्यवस्थापकीय अभ्यास भएको संसद् र थोरै प्रदेशको व्यवस्था गरिनुपर्ने आवश्यकता औँल्याएका छन ।
विश्वमा लोकतान्त्रिक मुलुकले आत्मसात् गरेको संसदीय व्यवस्थाको पहिचान र आत्माका रुपमा दुई सदनात्मक संसदको व्यवस्था गर्न आवश्यक रहेको उनिहरुको भनाइ छ ।
यसैबीच व्यवस्थापिका संसद् व्यवस्थापिका संसद्को बैठक आज बोलाइएको छ । बेलुका पाँचबजे बस्ने आजको बैठकले सरकारका तर्फबाट राष्ट्रपतिले संसद्मा पेश गर्ने नीति तथा कार्यक्रम र बजेट बक्तव्यका लागि मिति घोषणा गर्ने आन्तरिक तयारी गरिएको छ ।
प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिकामा रहेकाले उनी आउने समय तय भएपछि नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्ने तयारी थियो । तर प्रधानमन्त्री कहिले आउने भन्ने अहिलेसम्म टुंगो नलागेका कारण आजको बैठकले नीति तथा कार्यक्रमको मिति र बजेट पेश गर्ने दिन तय गर्ने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री १-२ दिनमा आउने निश्चित भए सोही अनुरुप मिति घोषणा गरिनेछ ।