दलित समुदायलाई मन्दिर प्रवेशमा रोक

काठमाण्डु टुडे २०७१ असार १० गते २:२६ मा प्रकाशित

कञ्चनपुर, १० असार– जिल्लाका दलित समुदायका व्यक्तिले जातीय विभेदका कारण मन्दिर प्रवेश गर्न नपाउने गरेका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कञ्चनपुरले दलित समुदायमाथि हुने जातीय विभेदबारे भीमदत्तनगरपालिका, दैजी, झलारी र सुडामा रहेका २४ वटाभन्दा बढी मन्दिरमा  गरेको अनुगमनका क्रममा दलित समुदायलाई मन्दिर प्रवेश गर्न नदिएको पाइएको हो ।
मन्दिरहरुमा दलित समुदायका व्यक्तिलाई पुजारीले टीका नलगाउने, फुलप्रसाद मन्दिर बाहिरबाटै हात थापेर लिनुपर्ने र मन्दिर व्यवस्थापन समितिमा दलित समुदायका व्यक्तिको प्रतिनिधित्व नगराइएको पाइएको संघका अध्यक्ष दिलाराम टमटाले बताए ।
‘समाजमा चरम रुपमा जातीय विभेद कायम छ’, उनले भने, ‘कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदायले सामाजिक पीडा खेप्नु परेको छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी शिवदत्त अवस्थीले दलित समुदायमाथि मन्दिर प्रवेश गर्न नदिइनु गैरकानुनी भएको बताए । जातीय विभेद गर्नु कानुनी अपराध भएकाले त्यसमा संलग्नविरुद्ध उजुरी गरे कारबाही हुने  अवस्थीको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us