
काठमाण्डु, ९ असार– आइतबार सविधानसभा उपनिर्वाचन भएका ४ क्षेत्रमध्ये ३ वटाको मत परिणाम सार्वजनिक भएको छ ।
बिहान सार्वजनिक भएको नतिजाअनुसार चितवन– ४ र कैलाली–६ मा काँग्रेस तथा बर्दिया–१ मा एमाले उम्मेदवार विजयी भएका छन् । काठमाण्डु–२ को भने मगतणना जारी छ ।
चितवन–४ मा काँग्रेसका रामकृष्ण घिमिरे २० हजार ३ सय १८ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वती रावलले १७ हजार २ सय ७२ मन पाइन् ।
एमाओवादी उम्मेदवार खुशीराम पाख्रिन ७ हजा ८ सय ५५ मतका साथ तेश्रो भए । उक्त क्षेत्रमा गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा काँग्रेस सभापति सुशील कोइराला विजयी भएका थिए । यस्तै कैलाली–६ मा पनि कांग्रेस उम्मेदवार पुष्करनाथ ओझा विजयी भएका छन् ।
ओझाले १४ हजार ७ सय ८४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ११ हजार ९ सय ५९ र राप्रपा नेपालका राजेश भण्डारीले ४ हजार ३ सय ६४ मत ल्याएका छन् । त्यहाँ एकीकृत माओवादीका उमेदवार सुन्दरराज रेग्मी पाचौं नम्बरमा छन् ।
उक्त क्षेत्रमा यसअघि काँग्रेसकै शेरबहादुर देउवा विजयी भएका थिए । यस्तै बर्दिया–१ मा एमालेका श्याम ढकाल विजयी भएका छन् । ढकाल १६ हजार ९ सय ९६ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सोदे विष्टले ११ हजार ३ सय ३५ मत ल्याए ।
एमाओवादी उम्मेदवार भवनकुमार थारु ११ हजार ३१ मत ल्याएर तेस्रो भए । सो क्षेत्रबाट ४ मंसिरमा भएको निर्वाचनमा एमाले उपाध्यक्ष बामदेव गौतम विजयी भएका थिए ।