अनार खेतीका लागि निब्र्याजी ऋण उपलब्ध गराउन किसानको माग

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते ११:२० मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– परम्परागत खेती किसानीमा रमाउँदै आएका नुवाकोटका किसान पछिल्लो समय व्यवसायिक अनारखेतीतर्फ आकर्षित भएका छन् ।

परम्परागत रूपमा मकै तथा कोदोखेती गरिरहेका नुवाकोट बेलकोट–२ का किसान यतिबेला व्यावसायिक रूपमा अनारखेतीमा आकर्षित भएका हुन् । भारतबाट आयात गरिएको हाइब्रिड प्रजातिका अनारखेती सुरु गरेका किसानले छोटै समयमा उल्लेख्य आम्दानी गर्ने विश्वास लिएका छन् । सरकारले अगाडि सारेको ‘एक गाउँ एक उत्पादन’को रणनीतिलाई व्यावहारिक रूपमा नै सफल बनाउने लक्ष्यका साथ अनारखेती सुरु गरिएको हो ।

बेलकोटमा निरञ्जना अनार तथा फलफूल समूह गठन गरेर किसानले करिब छ हजार अनारका बिरुवा रोपेका छन् । ‘रेड डायना इन्डो इजरायली’ प्रजातिका अनारको व्यावसायिक रूपमा खेती सुरु गरिएको जानकारी दिँदै स्थानीय किसान पुष्पराज पाण्डेले आगामी दुई वर्षभित्र उत्पादन सुरु हुने बताए ।

गत साउनमा सारिएको अनारको बिरुवामा फूल फुलेपछि सो खेतीमा संलग्न किसानमा खुसीको सञ्चार भएको पाण्डेको भनाइ छ ।

विस्थापित भएका युवालाई गाउँमै रोजगारी प्रदान गर्ने र आम्दानीको स्रोत बढाई पुन:स्थापना गर्ने उद्देश्यले व्यावसायिक अनार खेती सुरु गरिएको हो । विगत तीन वर्षदेखि गहन रूपमा अध्ययन गरेर अनारखेती सुरु गरिएको जानकारी दिँदै अर्का किसान सीताराम पाण्डेले नुवाकोटलाई अनारको पकेट क्षेत्रका रूपमा विकास गरिने बताए ।

नुवाकोटको भद्रुटार, मदानपुर, ओखरपौवा, थानसिङ, त्रिशूली, बेलकोट र काठमाण्डुको जीतपुर, काभ्रेस्थलीमा पछिल्लो पटक व्यावसायिक रूपमा अनारखेती सुरु गरिएको छ ।

व्यावसायिक रूपमा खेती सुरु गरेका किसान भारतलगायतका मुलुकबाट भन्सार छुटमा अनारको बिरुवा ल्याएको बताउँछन् ।

अनारसँगै स्थानीय किसानले अङ्गुर, बेल, अम्बा, एभोकाडो, अमला र कागतीको खेती गर्ने सोच बनाएका छन् । अनारखेतीका लागि राष्ट्रिय बागवानी केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

उच्च आद्रता सहने नेपालको पहाडी भूभागमा असाध्यै राम्रो उत्पादन हुने अनारखेतीप्रति आकर्षित भएका नुवाकोटका किसानले अनारखेती सुरु गरेको चर्चासँगै भेटघाटमा जाने र सो खेती गर्न चाहनेको बाक्लो उपस्थिति हुने गरेको स्थानीय किसान राजेन्द्र थपलिया बताउँछन् ।
छिमेकी भारतको उत्तराञ्चल, उत्तर प्रदेश, सिक्किम, हरियाणा, भुपाल, राजस्थान, पुनालगायतका स्थानमा व्यावसायिक रूपमा अनारखेती गरिन्छ ।

हाल बजारमा प्रतिकिलो रु ३०० देखि ४०० सम्म मूल्य पर्ने अनारमा मुलुक सधैं परनिर्भर रहँदै आएको छ । वार्षिक एक अर्बभन्दा बढीको अनार आयात गर्ने मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अनारखेती सुरु गरिएको जानकारी दिँदै खाडी–कतारमा भविष्य खोज्न भौंतारिएका युवालाई स्वदेशमा नै केही हुन्छ र गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको निरञ्जना अनार तथा फलफूल समूहका कोषाध्यक्ष तोयानाथ थपलियाले बताए ।
अनारको उत्पत्ति इरानमा भए तापनि यो फल संसारका धेरै देशमा उत्पादन गर्न सकिन्छ । नेपालमा तराईका केही जिल्लाका साथै प्राय: सबैजसो मध्य पहाडी जिल्लामा अनारखेती गर्न सकिन्छ ।

इरान, अफगानिस्तान, पाकिस्तान, भारत, बर्मा, चीन, जापान, इजिप्ट, स्पेन र मोरक्को जस्ता मुलुकमा व्यावसायिक रूपमा अनारखेती गरिन्छ । विभिन्न देशमा हाल ६० भन्दा बढी प्रजातिका अनारखेती गरिन्छ ।

नेपाल अनार सङ्घले अनारखेतीलाई व्यवसायिकीकरण गर्दै गाउँ–गाउँसम्म पुर्‍याएर नेपाललाई अनारको उत्पादनमा आत्मनिर्भर बनाउन सकिने बताउँदै आएको छ । कृषि प्रधान देशमा विदेशी अनारमा नेपाली उपभोक्ता निर्भर हुनुपरेको अवस्था लज्जास्पद भएको भन्दै सङ्घले अनारखेतीलाई अभियानका रूपमा लगी स्वदेशकै अनारबाट नेपाललाई अनारखेतीको देशका रूपमा परिचित गराउन सक्ने विश्वास लिएको छ ।

अनारखेतीका लागि राज्यले स्पष्ट नीति बनाई रु १० देखि रु ५० लाखसम्म निब्र्याजी ऋण उपलब्ध गराए आगामी १० वर्षभित्र यस खेतीमा मुलुकलाई आत्मनिर्भर बनाइ अन्तर्राष्ट्रिय रूपमा व्यापार गर्न सकिने सङ्को भनाइ छ ।

नेपाल अनार सङ्घका अध्यक्ष हीरालाल आचार्य (अनार बाजे) ले आफू नेपाललाई अनारखेतीको देशका रूपमा परिचित गराउने अभियानमा लागेको बताउँदै सरकारले सहयोग गरे यो लक्ष्य पूरा गर्न धेरै समय नलाग्ने उल्लेख गरे ।
हाल मुलुकको रामेछाप, दोलखा, सिन्धुपाल्चोक, इलाम, कास्की, धादिङ र नुवाकोटमा अनारको व्यावसायिक खेती सुरु गरिएको छ । मुलुकमा विशेषगरी भारत, पाकिस्तान अफगानिस्तान र खाडी मुलुकबाट अनार आयात हुने गरेको छ । रासस

(तस्बिर उपलब्ध छ)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us