वैज्ञानिकहरूले सार्स र मर्सका विषाणु नियन्त्रण गर्ने यौगिक फेला पारे

काठमाण्डु टुडे २०७१ जेठ १६ गते १३:२४ मा प्रकाशित

जेनेभा – वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय समूहले सार्स तथा मर्स जस्ता स्वासप्रस्वास नलीमा प्रभाव पार्ने विषाणु कोरोनाभाइरस नियन्त्रण गर्ने यौगिक फेला पारेको जानकारी दिएका छन् । हालसम्म यी रोगको कुनै उपचार फेला परेको थिएन ।

कोरोनाभाइरसले मानवको स्वासप्रस्वास नलीको माथिल्लो तथा तल्लो भागमा प्रभाव पार्छ । यी विषाणुले कुल रुघाखोकीका एक तिहाइ रोग लगाउने गर्छन् ।

हालसम्म सबैभन्दा नराम्रो विषाणु चमेरोबाट आएको अनुमान गरिन्छ । यसले सन् २००२ मा विश्वव्यापी रूपमा सार्स (सिभर एक्युट रेस्पाइरेटरी सिन्ड्रम) को महामारी फैलाएको थियो र यसका कारण कम्तीमा ८०० व्यक्तिको मृत्यु भएको थियो ।

मिडिल इस्ट रेस्पाइरेटरी सिन्ड्रम (मर्स) सन् २०१२ मा साउदी अरेबियामा फेला परेको नयाँ प्रकारको रोग हो । यसका विषाणु उँटबाट उत्पन्न भएको अनुमान गरिएको छ । यो बढी घातक तर कम सङ्क्रामक रोग हो । हालसम्म विश्वमा ६३६ व्यक्तिमा यसका विषाणु देखा परेको छ र तीमध्ये १९३ व्यक्तिको मृत्यु भइसकेको छ ।

स्विडेनको गुटेनबर्ग विश्वविद्यालयका एडवर्ड ट्रिबाला तथा बर्न विश्वविद्यालयको भोल्कर थिलको नेतृत्वमा वैज्ञानिकहरूको एक समूहले के२२ नाम गरेको एक यौगिक फेला पारेको छ । यसले यस विषाणुलाई मानवमा फैलनबाट रोक्छ ।

पहिले के२२ नाम गरेको यो यौगिक कोरोनाभाइरसका कमजोर स्वरूपलाई नियन्त्रण गर्न सफल देखिएको थियो । यसले सामान्य रुघाखोकीका लक्षण नियन्त्रण गर्न सकेको थियो । पछि यो सार्स तथा मर्सका बढी गम्भीर प्रकारका विषाणु नियन्त्रण गर्न सफल देखिएको छ ।

प्लस प्याथोजेन्स नामक पत्रिकामा एक लेखमा यी वैज्ञानकहरूले यी विणाणु मानवको स्वासप्रस्वास प्रणालीमा वृद्धि हुने जानकारी दिएका छन् ।

यस विषाणुले मानव कोषका विभिन्न भागलाई भिन्न बनाउने झिल्लीलाई नियन्त्रणमा लिने र त्यसलाई आफ्नो वृद्धिका लागि उपयुक्त हुने गरी परिवर्तन गरिदिने गरेको बताइएको छ ।

के२२ ले यस प्रक्रियाको आरम्भमा काम गरी यी विषाणुलाई कोषको झिल्लीलाई नियन्त्रणमा लिन नदिने पनि उल्लेख गरिएको छ ।

यी वैज्ञानिकहरूले सार्सले महामारीको स्वरूप लिएको र मर्स पनि सक्रिय भएको अवस्थामा के२२ लाई परीक्षणशालाभन्दा बाहिर परीक्षण गर्नुपर्ने र त्यसलाई औषधिको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

यस महिनाको आरम्भमा विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको एक समूहलाई जेनेभामा भेला गराएको थियो र उनीहरूले मर्सको विस्तार भइरहेको तर त्यसले विश्वव्यापी आपत्कालीन अवस्था प्राप्त नगरेको बताएका थिए ।

मर्सका प्रायः बिरामी साउदी अरेबियामा देखिएका थिए र अधिक मृत्यु पनि सोही देशमा भएको थियो । तर हाल यो विषाणु विश्वका एक दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us