हवाई आक्रमणमा दुई हजारको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १६ गते १३:२० मा प्रकाशित

बेरुत, १६ जेठ– सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको भनिएको आलेप्पो प्रान्त र वरपरको इलाकामा गत जनवरीदेखि हालसम्म सरकारी सेनोले गरेको हवाई आक्रमणमा एक हजार ९६३ व्यक्तिको ज्यान गएको छ ।

 शुक्रबार सिरियाका अधिकारवादीहरुले सो जानकारी दिएको समाचारमा जनाइएको छ । यसरी मारिनेमध्ये ५६७ बालबालिका रहेका पनि मानवअधिकारीबादी समूहले जनाएका छन् ।

त्यसैगरी सो हवाई आक्रमणमा २८३ जना महिला रहेका पनि सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

सिरियामा तीन वर्षदेखि जारी रहेको हिंसाका क्रममा मारिने नागरिकको सङ्ख्या कम्तीमा पनि एक लाख ६२ हजार पुगेको जनाइएको छ ।

सिरियाली आन्दोलनको अनुगमन गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले हालै सो जानकारी दिएको हो ।

हवाई आक्रमणमा ५३ हजार ९७८ जना सर्वसाधारण रहेका छन् । मारिनेमा आठ हजार ६०७ जना बालबालिका पनि परेका छन् ।

त्यसमध्ये मारिनेमा ६१ हजार १७० जना सिरियाली सैनिकलगायतका पनि परेका छन् । सुरक्षाकर्मीहरुमा ३७ हजार सिरियाली सैनिक र २३ हजार जना भने सिरियाली सरकार समर्थित सशस्त्र समूहका सदस्य रहेका छन् ।

सन् २०११को मार्च महिनाबाट सिरियामा सरकार विरोधी आन्दोलन सुरु भएको हो । राष्ट्रपति बसार अल असादको राजिनामाको मागगरी सुरु भएको सो आन्दोलनमा पछिल्लो सयममा व्यापक मात्रामा हिंसा भएको छ ।

तर राष्ट्रपति असादले भने पुनः आफू सत्तामा आउनका लागि निर्वाचनको घोषणा गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us