कर नतिर्ने व्यवसायीलाई दायरामा ल्याउँदै आयोग

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १३:२७ मा प्रकाशित

काठकाण्डु,  ९ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यावसायिक फर्महरु करको दायरामा नआएकाले निगरानी बढाइएको जानकारी दिएको छ ।

सरकारलाई बुझाउनुपर्ने कर व्यावसायीहरुले समयमा नबुझाई बक्यौता राख्ने गरेको सन्दर्भमा आयोगले अनुगमन र निगरानीको प्रक्रियालाई अगाडि बढाएको हो ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार हालसम्म एक लाख ३५ हजार ३९४ जनालाई आयकर, ११ हजार ३९ जनालाई मूल्य अभिवृद्धि कर, ४० हजार ५८४ जनालाई अन्तःशुल्क गरी जम्मा एक लाख ८७ हजार १७ व्यवसायीलाई आयकरको दायरामा ल्याइएको छ ।

यस्तै कर छली गर्ने एक हजार १९९ करदातामाथिको अनुसन्धान कार्य सम्पन्न भई आयकर र मूल्य अभिवृद्धि करसमेत गरी कुल रु दुई अर्ब ४४ करोड ५० लाख कर निर्धारण गरिएको र त्यो असुलीको प्रक्रियामा रहेको आयोगले जनाएको छ ।

बक्यौतातर्फ रु तीन अर्ब ५७ करोड ३१ लाख असुली गरिएको छ । सूर्तीजन्य पदार्थको अन्तःशुल्कतर्फ आर्थिक वर्ष २०६९÷७० मा रु २२ करोड मात्र असुल भएकामा चालु आबको दश महिनामा रु एक अर्ब पाँच करोड असुल गरिएको छ ।

काठमाडौँको एक सूर्ती उद्योगबाट अन्तःशुल्क छली भएको अनुसन्धानबाट खुलेकाले रु १९ लाख धरौटी लिई त्यसमाथि अनुसन्धान थालिएको समेत अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us