दश हजार अष्ट्रिचका नयाँ चल्ला उत्पादन गरिने

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ११:५२ मा प्रकाशित

बुटवल, ९ जेठ – रुपन्देहीको गङ्गोलियामा सञ्चालित नेपालकै पहिलो अष्ट्रिच फार्ममा चालु वर्ष २०७१ सालमा १० हजार अष्ट्रिचका नयाँ चल्ला उत्पादन गरिने भएको छ ।

अष्ट्रिच नेपाल प्रालिले जनाएअनुसार २०७० चैत अन्तिमसम्म माउ र चल्ला अष्ट्रिच गरी ३५ हजार बढी पुगिसकेका छन् भने अब २०७१ सालभित्र १० हजार अष्ट्रिचका चल्ला उत्पादन गरी कृषकको घरघरमा पु¥याउने योजना रहेको छ ।

अष्ट्रिच नेपालका सञ्चालक सिपी शर्माका अनुसार अब कृषकलाई यो व्यवसायतर्फ प्रत्यक्ष सहभागी गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ । उनका अनुसार गत वर्षबाट नै अष्ट्रिचको दानाका रुपमा प्रयोग हुने घाँसखेती कृषकले सुरु गरिसकेका छन् ।

आजभन्दा करिब पाँच वर्षअघि रु १० करोडको लगानीमा स्थापना गरिएको अष्ट्रिच फार्ममा हालसम्म झन्डै रु ६० करोड लगानी भइसकेको छ ।

अष्ट्रिच नेपाल प्रालिले जनाएअनुसार अहिले दैनिक रुपमा ३० वटा अण्डा अष्ट्रिचले दिइरहेको छ ।  तीन महिनाभित्र दैनिक साठी वटा अण्डा दिन्छ र अण्डा ह्याचरिङ गर्ने प्रविधिसमेत यही रहेको छ । त्यसैले अब एक वर्षमा १० हजार चल्ला उत्पादन गरेर नेपाल र विभिन्न मुलुकका किसानको घरघरमा पु¥याउने लक्ष्य रहेको बताइएको छ ।

चल्ला किनेर लगेका कृषकले अष्ट्रिच पालेको नौ महिनामै फेरि उचित मूल्यमा कम्पनीले खरिद गर्ने अष्ट्रिच नेपाल प्रालिले जनाएको छ । फार्मका अनुसार एक किसानले कम्तीमा २० वटा अष्ट्रिच पाल्ने छन् । किसानले नौ महिना पालेपछि कम्पनीले सोझै खरिद गर्ने भएकाले पनि कृषकलाई अझ राम्रो हुने र डेढ वर्षमा दुईपटक आम्दानी गर्न सक्ने छन् ।

अहिले रुपन्देहीको मधवलिया, गङ्गोलिया, मानमटेरिया, दयानगर, छपिया, फर्साटिकर, सूर्यपुरा र मर्चवारका कृषकले अष्ट्रिच लागि घाँसखेती गरिरहेका छन् भने बजारमा ल्याएकामा २०७१ सालमा १०० टन मासु उपभोक्ताका लागि बिक्री गर्ने लक्ष्य लिएकोे पनि जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us