किसानको व्यवसायमा पहुँच अभिवृद्धि गर्न ‘पैँचो’ पसल

काठमाण्डु टुडे २०७१ जेठ ८ गते ११:०३ मा प्रकाशित

बुटवल, ८ जेठ– कृषिजन्य उत्पादनहरुको बजारीकरण गर्ने उद्देश्यसहित विभिन्न क्षेत्रमा क्रियाशिल २० जना व्यक्तित्वहरुले पैंचो पसल सञ्चालनमा ल्याउने भएका छन् ।

१५ करोड रुपैयाँ लगानीमा ग्रामीण क्षेत्रका कृषकहरुसँगको सहकार्यमा वस्तु विनिमयमा आधारित रहेर कारोबार गर्ने उद्देश्यका साथ पैंचो पसल सञ्चालनमा ल्याउन लागिएको हो । बुटवलमा बिहीबार पत्रकार सम्मेलन गरी पसल स्थापनाको काम भइरहेको जानकारी गराइएको छ ।

पैंचो पसलमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका पूर्वप्रमुख कार्यकारी अधिकृत ध्रुवराज न्यौपाने, नेपाल वनपैदावर उद्योग व्यवसायी महासंघका अध्यक्ष कपिल अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यकारी सदस्य दुर्गा भण्डारी, सञ्चारकर्मी शरण कर्माचार्यलगायतका उद्योगी, व्यवसायी तथा पेशाकर्मी छन् ।

पत्रकार सम्मेलनमा यस वर्ष गुल्मीको बलेटक्सारमा प्रधान कार्यालय स्थापना गर्दै बलेटक्सार, दिगाम र पाल्पाको अर्गेलीमा मुख्य पैचो पसल स्थापनाका लागि पूर्वाधार निर्माण शुरु भैसकेको जानाकारी पनि गराइएको छ ।

पसलमा यस वर्ष ६० जनाले प्रत्यक्ष रोजगारी पाउने र ४० हजार जनसंख्यालाई फाइदा पुग्ने दावी गरिएको छ ।

ग्रामिण क्षेत्रका कृषक तथा उपभोक्ताहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उचित मूल्यमा उपलब्ध गराई सो वापतमा स्थानीय कृषक तथा साना उद्यमीहरुले उत्पादित कुनैपनि सामानको मूल्याङकन गरी एक आपसमा सट्टापट्टा गरिने र कृषकहरको उत्पादन उचित मूल्यमा खरिद गरिने पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us