व्यावसायिक कृषिसँगै महिला कृषक बढे

काठमाण्डु टुडे २०७१ जेठ ८ गते १०:५३ मा प्रकाशित

कञ्चनपुर, ८ जेठ – कञ्चनपुरमा विगत १० वर्षको तुलनामा मुख्य महिला कृषक बढेको एक सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय कृषिगणना – २०६८ का अनुसार कञ्चनपुरमा पछिल्ला १० वर्षयता मुख्य महिला कृषक बढ्दै गएका छन् ।

दस वर्ष पहिले ३.५ प्रतिशत मुख्य कृषक महिला थिए भने हाल १८.९ प्रतिशत मुख्य कृषक महिला भएका छन् । पछिल्ला वर्षहरूमा जनचेताको वृद्धिसँगै महिला कृषकको सङ्ख्यामा पनि वृद्धि भएको तथ्याङ्क कार्यालयले जनाएको छ । पहिले कृषिमा महिलाहरू सहभागीमात्रै हुने गरेका थिए ।

यसैबीच राष्ट्रिय कृषि गणना, २०६८ का अनुसार कञ्चनपुरमा पछिल्ला १० वर्षयता कृषक परिवारको सङ्ख्यामा वृद्धि भएको तथ्याङ्क कार्यालयले जनाएको छ ।

तथ्याङ्क कार्यालय प्रमुख नमराज पाण्डेले १० वर्षको अवधिमा कञ्चनपुरमा १७ हजार पाँच कृषक बढेको जानकारी दिए । २०५८ सालमा ५४ हजार, ५६८ कृषक थिए भने २०६८ सालमा १७ हजार पाँचले बढेर सत्तरी हजार ५७३ कृषक पुगेका छन् ।

व्यावसायिक रूपमा कृषिको महत्व बढ्न थालेपछि कृषक बढेको तथ्याङ्क कार्यालय कञ्चनपुरको अनुमान छ ।

राष्ट्रिय कृषि गणनाको तथ्याङ्कअनुसार ४४ हजार, ३५३ हेक्टर जमिन कृषक परिवारको चलनमा रहेको छ भने ४१ हजार, ४५४ हेक्टर जमिन खेतीयोग्य छ । ८९ प्रतिशत जमिन सिञ्चित भएका कारण पनि कृषि कार्यमा सहभागिता बढेको तथ्याङ्क कार्यालयको ठहर छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us