ठेकेदार फरार, पुल कुनैपनि बेला भत्कने खतरा

काठमाण्डु टुडे २०७१ जेठ ७ गते १०:०१ मा प्रकाशित

भक्तपुर, ७ जेठ – मध्यपुरथिमि नगरपालिका र दधिकोट गाविस जोड्ने एकमात्र हनुमन्ते खोलाको पुल निर्माण अवधि सकिन लाग्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि निर्माण कार्य अलपत्र परेको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले पुल निर्माण गर्नका लागि आव २०६८÷०६९ मा नै टेन्डर गरी पुल निर्माणको ठेक्का मिचिको आश्रम चौरासिया जेवी कम्पनीलाई दिएको थियो । अहिले पुल निर्माण कार्य नै छाडेर ठेकेदार सम्पर्कविहीन भएपछि निर्माण कार्य अलपत्र परेको हो ।
सडक कार्यालय भक्तपुरका प्रमुख इन्जिनियर नरेन्द्रनाथ कोइरालाले तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि ठेकेदार कम्पनीले हालसम्म पुल निर्माण सुरु नगरेको र सम्पर्कमा पनि नआएको जानकारी दिए । पुल जीर्ण र साँघुरो रहेकाले नयाँ पुल निर्माणका लागि कार्यालयले टेन्डर आह्वान गरेको थियो ।

कुल रु चार करोडको लागतमा निर्माण हुने उक्त पुल २०७१ सालसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि ठेकेदार नै सम्पर्कमा नआए पछि पुल निर्माण कार्य अलपत्र परेको हो । ठेकेदार कम्पनीले अझैसम्म पनि उक्त पुल निर्माणको प्रारम्भिक कार्य सुरु नगर्दा स्थानीय बासिन्दालाई आवतजावतमा समस्या परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us