चिनियाँ अर्थसचिव अर्को साता नेपाल आउँदै

काठमाण्डु टुडे २०७१ जेठ ६ गते ११:३८ मा प्रकाशित

काठमाण्डु, ६ जेठ – चीनका अर्थसचिव सी याओबिन एसियाली पूर्वाधार लगानी बैंक स्थापना सम्बन्धमा वरिष्ठ सरकारी अधिकारीहरूसँग छलफल गर्न यही जेठ १३ गते नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । ।

chinaतीनदिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थसचिव युवराज भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले बताए ।

चिनियाँ अर्थसचिवले वरिष्ठ सरकारी अधिकारीहरूसँग नेपालको विकास प्रयासमा चीनले उपलब्ध गराउने प्राविधिक एवम् आर्थिक सहयोगका विविध पक्षबारे विचारविमर्श गर्ने जानकारी दिएका छन् ।

चीनले क्षेत्रीय आर्थिक विकासलाई लक्ष्यित गरी पूर्वाधार निर्माणमा लगानी गर्न ५० अर्ब अमेरिकी डलरको कोष खडा गर्ने प्रस्ताव गरेको छ । दशवटा सदस्य मुलुकले त्यसमा रकम योगदान गर्नुपर्ने बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि खछ्याङले गत अक्टोबरमा एसियाली मुलुहरूबीच सडकजस्ता पूर्वाधारको माध्यमबाट एक आपसलाई जोड्न पूर्वाधार लगानी बैंक स्थापनाको प्रस्ताव गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us