राहदानीबाट दैनिक तीन करोड आम्दानी

काठमाण्डु टुडे २०७१ जेठ ६ गते ५:३४ मा प्रकाशित

काठमाण्डु, ६ जेठ – राहदानी विभागले दैनिक छ हजार राहदानी यन्त्रले पढ्ने राहदानी (एमआरपी) बनाउन थालेको छ ।

mrpसेवाग्राहीको चापलाई दृष्टिगत गरी विभागले दैनिक १२ घण्टा काम गरेर उक्त परिमाणमा राहदानी बनाउन थालेको हो ।

विभागको प्राविधिक सुदृढीकरणका साथै जनशक्ति थपिएसँगै सोमबारदेखि दैनिक छ हजार राहदानी बनाउन थालिएको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताए ।

“राहदानी उत्पादनको इतिहासमा हिजोदेखि पहिलोपटक छ हजार एमआरपी बनाउन सफल भयौँ”–सेवाग्राहीको चाप कम गर्दै उनीहरूलाई सहजरूपमा राहदानी वितरण गर्ने सरकारको नीति कार्यान्वयन भइरहेको जानकारी दिए ।

यसअघि दैनिक चार हजारदेखि चारहजार ५०० को हाराहारीमा विभागले राहदानी बनाउँदै आएको थियो । सरकारले करार सेवामा १५ जना कर्मचारी उपलब्ध गराएपछि काम द्रुत गतिमा अघि बढेको उल्लेख गर्दै उनले दैनिक आठ हजार एमआरपी उत्पादन गर्ने लक्ष्यका साथ विभाग अघि बढिरहेको बताए ।

राहदानीका निम्ति भर्नुपर्ने फाराम ‘अनलाइन’ राखिएकाले आवेदन गर्नेको भीड पनि क्रमशः घट्दै गएको बताउँदै उहाँले तयार भएका राहदानी वितरण गर्न अझै पनि जनशक्तिको अभाव भने खट्किरहेको गुनासो गर्नुभयो ।

मागअनुसार राहदानी बन्ने र सन् २०१५ को अक्टोबर २५ भित्र हस्तलिखित राहदानीलाई एमआरपीले विस्थापन गर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको बाध्यात्मक नियम कार्यान्वयन गर्न नेपाललाई कुनै कठिनाइ नहुने पनि महानिर्देशक खनालले स्पष्ट पारे ।

राहदानी वितरणबापत सोमबारदेखि राज्यकोषमा दैनिक  तीन करोड सङ्कलन हुन थालेको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us