
काठमाण्डु, ५ जेठ– नेपाली काँग्रेसले आगामी ८ असारमा हुने संविधानसभा उपनिर्वाचनका लागि उम्मेदवारी सिफारिस गरेर पठाउन सम्बन्धित क्षेत्रीय कमिटीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको संसदीय समिति बैठकले एक क्षेत्रबाट तीन जनाका दरले नाम पठाउन निर्देशन दिएको हो । संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित भएका सभासदले छाडेका एक स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
काठमाण्ठु–२, चितवन– ४, बर्दिया– १ र कैलाली–६ मा ८ असारमा उपनिर्वाचन हुँदैछ । काठमाण्डु–२ एमाले नेता माधव नेपाल, चितवन–४ काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, बर्दिया–१ एमाले उपाध्यक्ष बामदेव गौतम र कैलाली–६ काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले छाडेका हुन् । उनीहरुले गत ४ मंसिरमा भएको संविधानसभा निर्वाचनमा दुई/दुइृ क्षेत्रबाट विजय हासिल गरेका थिए ।