गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि एडिबीद्वारा सहयोग

काठमाण्डु टुडे २०७१ जेठ ५ गते ११:२३ मा प्रकाशित

काठमाण्डु, ५ जेठ – दक्षिण एसिया पर्यटन पूर्वाधार विकास परियोजनाको कार्यान्वयनका लागि करिब रु तीन अर्ब नौ करोड ४० लाख (३३ मिलियन अमेरिकी डलर) ऋण र अनुदान सहयोग गर्न एसियाली विकास बैंक(एडिबी) सहमत भएको छ ।

ADB-logoउक्त परियोजनामार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको भौतिक पुर्वाधार विकासमा सो ऋण र अनुदान खर्च गरिने जनाइएको छ ।

अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख मधुकुमार मरासिनी र एडिबीका देशीय निर्देशक किनिचि योकोयामाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कुल ९७.२१ मिलियन अमेरिकी डलर लागतको उक्त परियोजनामा एडिबीले ४२.७५ मिलियन अमेरिकी डलर ऋण र १५.७५ मिलियन अमेरिकी डलर अनुदान गरी ५८.५० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको हो ।

बाँकी रकम अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषले १५ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराउने छ भने अरू बाँकी रकम नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यहोर्ने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयन गर्ने उक्त परियोजनाभित्र लुम्बिनी विकास कोषले तयार गर्ने सफा सार्वजनिक यातायात सेवासमेत पर्ने जनाइएको छ । परियोजना सन् २०१७ जुन महिनाको अन्त्यमा सकिने जनाइएको छ ।

सो अवसरमा महाशाखा प्रमुख मरासिनीले उक्त परियोजना पूरा भएपछि नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us