
काठमाण्डु, ५ जेठ – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पर्यटन व्यवसायीले उठाएका मागलाई सम्बोधन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेका छन् ।
नेपाल पर्यटन बोर्डमा अनशनरत संयुक्त पर्यटन व्यवसायी समन्वय समितिको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुग्नुभएका पूर्व प्रधानमन्त्री देउवाले भने, “तपार्इंहरुको माग पूरा गर्नका लागि पर्यटनमन्त्रीलाई यहीबाट अनुरोध गर्दछु ।”
व्यवसायीका मागका विषयमा नेकपा (एमाले) अध्यक्ष झलनाथ खनालसँग आफूले कुराकानी गरेको र सो विषयमा उनले समाधानको बाटो खोज्छु भन्नुभएको जानकारी गराउँदै उनले व्यवसायीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे ।
नेता देउवाले पर्यटन व्यवसायीका माग पूरा गर्न आफू र आफ्नो पार्टीले पहल गर्ने बताए । उनीसँगै अनशन स्थल पुगेका नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले “मुलुकको पर्यटन व्यवसायसँग सम्बन्धित मुद्दामा आफू र आफ्नो पार्टीको ऐक्यबद्धता छ”, भने ।
बोर्डमा भएका आर्थिक अनियमितताको उच्चस्तरीय छानबिन हुनुपर्ने र बोर्डको कार्यकारी समितिमा संस्थागत प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राखी पर्यटन व्यवसायीले बीस दिनदेखि आन्दोलन गर्दै आएका छन् ।