
कावासोती, ५ जेठ– नवलपरासीमा गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप दिनदिनै बढ्न थालेको छ ।
शरीरमा पानीको मात्रा कम भएर मिर्गौला र पिसाबमा सङ्क्रमण बढ्नुका साथै पखालाका र सर्पदंशका बिरामी बढेको पृथ्वीचन्द अस्पतालले जनाएको छ ।
पहिला दैनिक ५० देखि ६० जना उपचारका लागि अस्पताल आउने भए पनि दुई सातादेखि प्रतिदिन बिरामी बढ्दै गएका छन् । आइतबार मात्रै १०४ जना उपचारका लागि अस्पतालमा आएको अस्पताल प्रशासनले जनाएको छ । बिरामीको सङ्ख्या अहिले आएर ह्वात्तै बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड चिकित्सक नुरुल होदाले जानकारी दिए ।
गर्मीसँगै बिरामी बढेको बढ्यै छन्’, होदाले भने, ‘दिउँसो मात्रै नभई राति आकस्मिक कक्षमा पनि बिरामीको सङ्ख्या बढ्दै गएको छ ।’ दिउँसो बजारका विभिन्न क्लिनिकमा बिरामी जाने भए पनि रातिको बेला समस्या हुँदा सरकारी अस्पतालमै आउने गरेका छन् । आकस्मिक कक्षका अनुसार प्रत्येक राति २० भन्दा बढी बिरामी पेट दुखेको, टाउको दुखेको भन्दै आउने गरेका छन् ।
पिसाबमा इफेक्सन (सङ्क्रमण) धेरैजसो महिलामा देखिएको र शरीरमा पानीको कमी मात्रै ज्वरो आउने, कोखा दुख्नेजस्ता लक्षणहरु देखिएका छन् । बालबालिकामा ज्वरो र पखाला बढी देखिएको अस्पतालले जनाएको छ । सीमावर्ती गाविस र केही भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।
गर्मीसँगै सर्पदंशका बिरामी पनि बढेका छन् । सर्पदशंका बिरामीमध्ये एक साताभित्रै तीनजनालाई लुम्बिनी अञ्चल अस्पताल बुटवल सिफारिस गरिएको र एकजना ढिलो उपचारमा आएको हुँदा मृत्यु भएको छ ।
जिल्लामा अहिले दिउँसोको तापक्रम ४२ डिग्री सेल्सियस हुने गरेको छ । दिउँसो गर्मी बढ्ने हुँदा कार्यालयमा आउने सेवाग्राही, बजारमा मानिसको आवागमनसमेत कम भएको छ । लोडसेडिङका बेला घरभित्र बस्नै गाह्रो भएको रामग्रामका रामचन्द्र भण्डारीले बताए ।