सदस्य सचिव चूडामणिद्वारा पदबहाली

काठमाण्डु टुडे २०७१ जेठ ४ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, ४ जेठ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव चूडामणि पौडेलले आइतबार पदबहाली गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपमा रहेको सदस्य–सचिवको कार्यकक्षमा पौडेलले पदबहाली गरेका हुन् । उनलाई शुक्रबार सदस्य–सचिवको जिम्मेवारी दिइएको थियो । पौडेल युवा तथा खेलकुद मन्त्रालयका सहसचिव हुन् ।

पदबहालीपछि राखेपद्वारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव पौडेलले अर्को व्यवस्था नहुन्जेलसम्म आफूले कार्य गर्ने बताए ।

उनले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहन गर्ने नीतिलाई अगाडि बढाउने जानकारी दिए ।

सदस्य–सचिव पौडेलले परिषद्को पुनःसंरचना गर्नुपर्ने आवश्यकतालाई पनि औंल्याए ।

उनले खेल क्षेत्रका लागि राज्यको कुल बजेटमध्ये एक प्रतिशत बजेट छुट्याउन सम्बन्धित संस्थाहरुले पनि पहल गर्नुपर्नेमा जोड दिए ।

युवराज लामाद्वारा सर्वोच्च अदालतमा रिट दायर

 खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

yuvraj lama

सदस्य सचिव लामाले आइतबार रिट दायर गरेका हुन् । मन्त्रीको एकल र गैरकानुनी निर्णयको विरुद आफू अदालत गएको सदस्य सचिव लामाले काठमाण्डु टुडेलाई बताए ।

आफ्नो कार्यकाल अझै एक बर्ष बाँकी रहेको र आफूलाई मन्त्रीपरिषद्ले नियुक्त गरेकाले मन्त्रीले बर्खास्त गर्न नसक्ने पनि उनले जिकिर गरे । मन्त्रीको निर्णय कार्यान्वयन नगर्न उनले आग्रह गरेका छन् ।

पौडेलले शुक्रबार लामालाई बर्खास्त गर्दै मन्त्रालयका सह-सचिव चूडामणि पौडेलले सदस्य सचिव नियुक्त गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us