
सिन्धुपाल्चोक, ४ जेठ – सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको आगामी जेठ १७ गते हुने अधिवेशनमा मनोनयन दर्ता गर्न रु ५१ हजार दस्तुर कायम गरेपछि साना व्यापारीले यस निर्णय प्रति असन्तुष्टि र विरोध प्रकट गरेका छन् ।
बहुमतको आडमा आँक्नै नसक्ने गरी मनोनयन दस्तुर वृद्धि गरेपछि उम्मेदवारको आकाङ्क्षी सङ्घको साधारण सदस्य रहेका साना व्यापारीले आफूहरुको उम्मेदवारीका लागि ढोका बन्द गरेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।
मनोनयन दस्तुरको निर्णयका समयमा आफू उपस्थित नभएको र विधानमा समेत उल्लेख नभए पनि गत वर्ष रु १० हजार कायम गरिएकामा यो पटक रु ५१ हजार कायम गरिएको सङ्घका महासचिव श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।
मनोनयन दस्तुर बढी भए पनि नेतृत्व चाहनेका लागि रु ५१ हजार ठूलो नभएको महासचिव श्रेष्ठको भनाइ छ ।
विधानमा नभएको कुरा निर्णय गर्नु गलत भएको भन्दै असहमति प्रकट गर्दा पनि दिवङ्गत हुनुभएका केही व्यक्ति आजीवन सदस्य रहेकाले उनीहरुको सम्मानका लागि भन्दै सङ्घका बहुमत सदस्यले त्यस्तो निर्णय गरेको सङ्घका महासचिव श्रेष्ठले बताए ।
विधानकै कुरा गर्ने हो भने एक अध्यक्षको मात्र निर्वाचन हुने र अन्य मनोनीत सदस्यसहित २२ जना हुनुपर्नेमा हाल ३२ जना कायम छन् । विधानमा वरिष्ठ उपाध्यक्ष र मानार्थ उपाध्यक्षको व्यवस्था छैन ।
तर सङ्घमा सो पदमा पनि कार्यरत छन् । साना व्यापारीका लागि ढोका बन्द गर्न नहुने भन्दै असहमति प्रकट गरे पनि अध्यक्षबाहेक सदस्यको रु पाँच हजार ५०० र पदाधिकारीको रु २० हजार दस्तुर कायम गरेको सङ्घकी सदस्य लक्ष्मी पौडेलले बताइन् ।
तातोपानी क्षेत्रका ठूला व्यापारीका लागिमात्र यस्तो निर्णय गरेकोै सङ्घका साधारण सदस्य अर्जुन सापकोटाले बताए । सङ्घको साधारण सदस्य करिब एक हजार ३०० रहेकामा ३ नं क्षेत्रको मेलम्चीमा ५०÷६० जना, २ नं क्षेत्रको चौतारामा २५० सदस्य रहेको र अरु सबै १ नं क्षेत्रको बाह्रबिसेको भएकाले बहुमतकै आधारमा विधानविपरीत निर्णय गरिएको एक सदस्यले जानकारी दिए ।