अब मेसिनले उखु रोप्ने

काठमाण्डु टुडे २०७१ जेठ ३ गते ११:१२ मा प्रकाशित

वीरगन्ज, ३ जेठ – राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जितपुरले ट्र्याक्टरबाट सञ्चालित उखु रोप्ने मेसिन नेपाल भित्र्याएपछि उखु कृषकको चिन्ता हट्ने स्थिति देखिएको हो ।

कम लागतमा उखुको उत्पादन र उत्पादकत्व बढाउनेखालको उक्त मेसिनबाट प्रतिघन्टा एक हेक्टर क्षेत्रफलमा उखु रोप्न सकिने दाबी कार्यक्रमले गरेको छ । यसको प्रयोगबाट उखु रोप्ने खर्चमा ३० देखि ४० प्रतिशत फाइदा पुग्ने अनुमान कार्यक्रमको छ ।

यस क्षेत्रका किसान, उखु अनुसन्धानकर्ता, प्राविधिक, चिनी मिलका प्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा पहिलोपटक बाराको जितपुरस्थित उखुबाली अनुसन्धान कार्यक्रम परिसरमा उखु रोप्ने उक्त मेसिनको परीक्षण तथा प्रदर्शन गरियो ।

भारतको उत्तरप्रदेशस्थित गोविन्द इन्डस्ट्रिज प्रालिले उत्पादन गरेको यो उपकरणले उखु रोप्ने नाला बनाउने, काटेर उखुको बीउ रोप्ने, मल झार्ने, माटो तथा बीउमा लाग्नसक्ने रोगको नियन्त्रणका लागि विषादी छर्ने र उखुको बीउ माटोले छोप्ने कार्य एकैसाथ गर्छ ।

यो उपकरणको मूल्य नेपालमा झन्डै रु तीन लाख पर्ने उक्त उपकरणका अधिकृत विक्रेताले जनाएको छ ।

परम्परागत तरिकाभन्दा यो उपकरणले खेती गर्दा उखुको उत्पादन र उत्पादकत्व झन्डै तीन÷चार गुणा बढी हुने अनुमान गरिएको छ, राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रमका प्रमुख रेवतीरमण चौधरीले भने, उखुखेतीप्रति किसानलाई आकर्षण दिलाउन र व्यावसायिक रूपमा उखुखेतीमा जोड दिन कार्यक्रमले यो उपकरण पहिलोपटक परीक्षण गरेको हो ।

परम्परागत तरिकाबाट उखुखेती गर्दा बीउका लागि उखु काट्ने, उखु रोप्नका लागि नाला बनाई त्यसमा बीउ राख्ने, त्यसलाई माटोले छोप्ने, मल र विषादी छर्ने कार्यका लागि एक दिनमा प्रतिकठ्ठा ५÷६ जना मजदुर लाग्नेमा यो प्रविधिबाट खेती गर्दा दुईजना मजदुरले एक घन्टामा मात्र एक हेक्टर क्षेत्रफलमा उखु रोप्न सक्ने राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रमले जनाएको छ ।

मुलुकमा हालसम्म उखुको व्यावसायिक खेती फस्टाउन नसकेको बेला यो उपकरणले किसानलाई उखुखेती गर्न हौस्याउनेछ, राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत रामकृष्ण रजकले भने – मुलुकमा हाल ६४ हजार हेक्टरमा उखुखेती भइरहेको छ । तर यसको उत्पादन भने सरदर प्रतिहेक्टर जम्मा ४५ टनमात्र छ, जुन भारतको तुलनामा अत्यन्त न्यून हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us