
सिरहा–२९ वैशाख– तराईमा सशस्त्र समूहको गतिविधि कमजोर भएको समाचारहरु आइरहेका बेला सिरहामा एक जनाको गोली हानी हत्या भएको छ भने अर्का एक अपहरणमा परेका छन् ।
सिरहाको विष्णुपुरा चोकमा लक्ष्मीपुर–२ का जोगी भनिने जोगिन्द्र पासवानको अज्ञात व्यक्तिहरुको समूहले गोली हानी हत्या गरेको छ । प्रत्यक्षदर्शीका अनुसार चार जनाको संख्यामा रहेका अपरिचित व्यक्तिहरुले महतोमाथि पेस्तोलबाट गोली हानेका थिए ।
उनलाई चार गोली लागेको छ । बायाँ कोखमा गोली लागेका पासवानको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका नायब उपरीक्षक रमेशकुमार तामाङले जानकारी दिए । उनले घटनामा संलग्नको खोजी भइरहेको बताए ।
यसैबीच सिरहाकै धनगढी–१ छपराडीका अहेव वीरेन्द्रकुमार महतोलाई अज्ञात समूहले गएराति अपहरण गरेर लागेको छ । घरमै रहेको पोलिक्लिनिकबाट तीन/चारजना अपरिचित व्यक्तिले अपहरण गरी लगेको पीडित परिवारले बताएका छन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलालले महतोलाई अपहरणमुक्त गराउन व्यापक प्रहरी परिचालन गरिएको बताए । उनले रातभर खोजी गरे पनि पत्ता लगाउन नसकिएको जानकारी दिए ।
परिवारले महतो अपहरणमा परेको खबर दिएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहान तथा धनगढीको टोली खोजीमा सक्रिय छ । सम्पर्कबिहीन भएको केहीबेरपछि महतोले आफ्नै मोबाइलबाट टेलिफोन गरी आधा घण्टामा घर आउने बताएको र त्यसपछि मोबाइलको स्वीच अफ गरिएको प्रहरीले जनाएको छ ।