
काठमाण्डु, २३ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालले नेता बाबुराम भट्टराईलाई पत्नी हिसिला यमी र अर्का नेता नारायणकाजी श्रेष्ठको बुई चढेर पार्टीमा किचलो नगर्न भनेका छन् ।
विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनको विषयलाई लिएर पार्टी विवाद उत्कर्षमा पुगेका बेला सामाजिक सञ्जाल फेसकुबमार्फत उनले बाबुरामको व्यक्तित्व पत्नी यमीका कारण खस्केको आरोप लगाएका छन् । उनले पत्नीको कुरा नसुन्न र नेता श्रेष्ठको आडमा नेता बन्ने चाहना त्याग्न आग्रह गरेका हुन् । प्रकाशले यमी र श्रेष्ट पार्टी विसर्जन र विभाजनका उत्प्रेरक भएकाले सचेत रहन भट्टराईलाई सुझाव दिएका छन् ।
‘तपाइंको क्षमता र अनुभव लोभ लाग्दो नै छ’, बाबुरामका नाममा खुला पत्र लेख्दै उनले भनेका छन्, ‘तर हिसिलाले कान फुक्दा र नाराणकाजीले कुम जोड्दा तपाईं सतर्क हुनु बेस, यी पात्रहरु पार्टी विसर्जन र विभाजनका उत्प्रेरक हुन् ।’
उनले बाबुरामले विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्वामा असहमतिसहित राखेको सात बुँदे प्रस्ताव विचार समूहका नाममा बुख्याँचा बनाउने खेल भएको टिप्पणी गरेका छन् । बाबुरामप्रति पार्टीका कार्यकर्ता र आफ्नो समेत सहानुभूति मरेको भन्दै उनले उनको सादा जीवनको लंगौटी हिसिला यमीको फुलनदेवी शैलीका कारण उहिल्यै च्यातिएको लेखेका छन
। क्षमता र त्यागका आधारमा सहमति गरेर केन्द्रीय सहमति निर्माणमा भूमिका खेल्न र नभए जनवादका आधारमा निर्वाचनमार्फत केन्द्रीय समिति चुन्न उनले सुझाएका छन् । प्रकाशले भट्टराईलाई गुट विशेषको नाइके नबन्न र सबै कार्यकर्ताको नेता बन्न पनि भनेका छन् ।
यस्तो छ प्रशकाशकाे पत्र
श्रीमान डा. भट्टराई तपाईंप्रतिको हामी पार्टी समर्थक र कार्यकर्ताको सहानुभूति मरिरहेको छ । सादा जीवनको लगौंटी हिसिला यमी ज्यूको फुलनदेवी शैलीले उहिले नै च्याती दियो । मलाई हिसिला ‘म्याम’ को नाम तपाईंसँग जोड्न मन थिएन । तर अन्तर्राष्ट्रिय महिला दिवसमा तपाईंको फेसबुक स्टाटसमा यमी ‘म्याम’ लाई आदर्श महिलाको रुपमा लेख्नुभएको मलाई याद छ र। चुनाव मा २ सय ट्यापे–मुन्द्रे बाइकमा अघिपछि लगाउने तर कार्यकर्तालाई नमस्ते पनि नफर्काउने फुलनदेवीहरुले डा. भट्टराईलाई बिबादमा ल्याएको कुरा जानकारहरु भन्थे । तर पनि हामी तपाईंलाई एक आदर्श नेता मान्दै आएका थियौं ।
महाधिवेशनमा प्रचण्ड कमरेडको विरुद्ध ‘चियर म्यान’ मा लड्ने हिम्मत आएन तर केही महिनामा नै उपाध्यक्षबाट राजीनामा दिएर फेरि त्यागको नाममा नारायणकाजीको ‘गन्धे काँध’ चढेर पार्टी र प्रचण्डमाथि तिर हान्नुभयो । यदि प्रचण्ड असफल र नालायक थिए भने तपाईं हेटौंडामा भागवण्डामा होइन ‘चियर म्यान’ हुन र पार्टी लिड गर्न हिम्मत गर्नु बेस हुन्थ्यो ।
अनी हिसिला ‘म्याम’ ले इचङगुनारायण गाविस सम्मेलनमा देखाएको फोहोरी र ‘चण्डी नृत्य’बाट मलाई प्रस्ट भयो कि यो विचारको लडाईं होइन । मात्र बाबुराम भट्टराईलाई बुख्याँचा बनाएर विचार समूहको नाममा भागवन्डा लगाएर तर मार्ने फुलनदेवी हिसिलालगायतका हरुको चाल मात्र हो । अहिले पार्टी सम्मेलन चलिरहेको छ । सकेसम्म निष्ठा, क्षमता र त्यागको आधारमा सहमति गरेर केन्द्रीय नेतृत्व निर्माण गर्न रचनात्मक भूमिका खेल्नुस् ।
यदि सहमतिको प्रयास सफल नभए जनवादको प्रयोग गर्दै कार्यकर्ता तथा प्रतिनिधिको मतको आधारमा नयाँ केन्द्रीय समिति निर्माण गर्ने अभ्यासमा लाग्नुस् । खाली गुटको रक्षा गर्ने नाइके डा. भट्टराई हुनु हुन्न । अरुले गुट बनाउँछन भने बनाउन दिनुस् तर तपाईं गुटको होइन कार्यकर्ताको नेता हुनुस् ।
तपाईंको क्षमता र अनुभव लोभ लाग्दो नै छ । तर हिसिलाले कान फुक्दा र नाराएणकाजीले कुम जोड्दा तपाईं सतर्क हुनु बेस । यी पात्रहरु पार्टी विसर्जन र विभाजनका उत्प्रेरक हुन् । ‘अब्राहम लिङकनले भनेझै्र तपाईं आफ्नोबाट बच्नुस्, सत्रुबाट तपाईंलाई खतरा छैन ।’ अब पनि पार्टी फुटाउने, घुर्की लगाउने ‘पाजी’ हरु को बुइ चढ्ने हो भने तपाईंलाई मेरो भन्नु केही छैन ।