उन्नत जातका गाईपालन गरेर वार्षिक रूपमा डेढ करोड आम्दानी

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते ११:२८ मा प्रकाशित

तुलसीपुर (दाङ), १९ वैशाख – पछिल्लो समयमा यहाँका किसान व्यावसायिक रूपमा उन्नत जातका गाईपालन गरेर आर्थिक रूपमा सक्षम बन्दै गएका छन् ।

जिल्ला पशुसेवा कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा ३५० भन्दा बढी उन्नत जातका जर्सी गाई सामूहिक तथा व्यक्तिगत रूपमा पालिएका छन् । एउटा जर्सी गाईले दैनिक १४ लिटरसम्म दूध दिने भएकाले जिल्लामा जर्सी गाईको माग बढिरहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार जिल्लामा जर्सी गाई पाल्नका लागि वातावरण र हावापानी राम्रो भएकाले पनि यसको लोकप्रियता बढ्दै गएको हो ।

एक वर्षको अवधिमा जिल्लामा ३५० वटा जर्सी गाईको दूध बिक्रीबाट किसानहरू रु एक करोड ५० लाखभन्दा बढी आम्दानी गर्न सफल भएको बताउछन् जिल्ला पशुसेवा कार्यालयका प्राविधिक निमबहादुर पुन ।

अहिले जिल्लाको बिजौरी, चैलाही, मानपुर, उरहरी, शान्तिनगर, लालमटिया गाविस र घोराही तथा तुलसीपुर नगरपालिकामा व्यक्तिगत तथा सामूहिक रूपमा जर्सी गाईपालन व्यवसाय सञ्चालन गरिएका छन् ।

कृत्रिम गर्भधान कार्यक्रमअन्तर्गत स्थानीय गाई भँैसीलाई कृत्रिम गर्भधान गरेर उन्नत जातका गाई भँैसी उत्पादन गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न आठ स्थानमा सामूदायिक पशु प्रजनन केन्द्र स्थापना गरिएको छ भने अन्य चार स्थानमा उक्त केन्द्र स्थापनाका लागि तयारी भइरहेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us