
काठमाण्डु, १६ वैशाख – आगामी आर्थिक वर्ष २०७१-७२ को बजेट जेठ मसान्तभित्र व्यवस्थापिका–संसदमा पेस गर्ने गरी बजेट निर्माण भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ सचिव युवराज भुसालको संयोजकत्वमा आज बसेको मन्त्रालयका उच्च पदाधिकारीको बैठकमा बजेट निर्माण कार्यलाई केन्द्रविन्दुमा राखेर काम भइरहेको बताइएको हो ।
बैठकमा मन्त्रालयका विद्यमान समस्या यही महिनामा समाधान गर्ने गरी अघि बढाउने कार्ययोजनासमेत तय भएको मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले जानकारी दिए ।
सचिव भुसालले बैंक तथा वित्तीय क्षेत्र, सार्वजनिक खरिद र आर्थिक प्रशासनसँग सम्वन्धित ऐनहरूमा समयानुकूल संशोधनको प्रकृया अगाडि बढाउन निर्देशन दिँदै निष्पक्ष र निडर भई उच्च मनोवलका साथ कार्य सम्पादन गर्न भन्नुभएको प्रवक्ता पुडासैनीले जानकारी दिए ।