सहमतिकै आधारमा सभापतिको चयन हुनेमा नेताहरु अझै ढुक्क

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते १३:५६ मा प्रकाशित

CA-Bicc_2nd-Nepalकाठमाण्डु,५ वैशाख – संविधानसभा अन्तर्गतका पाँच समितिमध्ये तीन वटा समितिका सभापति चयन सहमतिका आधारमा हुन नसकेपछि निर्वाचन प्रक्रियाका लागि संविधानसभाका अध्यक्षलाई सिफारिश गरिएको छ ।

यो सिफारिश भएसँगै सभापतिको चयन सहमतिका आधारमा हुने सम्भावना क्षीण देखिएको छ । तर निर्वाचन प्रक्रियामा गएपनि अन्ततः सहमतिकै आधारमा सभापतिको चयन हुनेमा नेताहरु अझै ढुक्क रहेको पाइएको छ ।

सहमतिका आधारमा सभापति चयन प्रक्रियाका लागि आजसम्मको समयसीमा तोकिएकाले आगामी आइतबार अबेरसम्ममा सहमति हुन नसके निर्वाचनका लागि प्रक्रिया आरम्भ हुने पक्कापक्की रहेको व्यवस्थापिका–संसद सचिवालय सूत्रबाट थाहा भएको छ ।

सभापति चयन प्रक्रिया सहमतिका आधारमा होस् वा निर्वाचन प्रक्रियाका आधारमा जे भएपनि यही वैशाख १५ गतेसम्ममा सम्पन्न गरिसक्ने कार्ययोजना संविधानसभाले पारित गरिसकेको छ ।

त्यो सन्दर्भलाई समेत विचार गर्दा निर्वाचन प्रक्रियामा जाँदा लाग्ने समयसीमालाई समेत ख्याल गरेर आइतबारसम्ममा निर्वाचन प्रक्रिया अगाडि बढाउनै पर्ने वाध्यता रहेको छ ।

उता संविधानसभा मातहत रहेका पाँच वटा समितिमध्ये महत्वपूर्ण मानिएका तीन वटा समितिको नेतृत्व नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत नेकपा(माओवादी)ले लिने भएका छन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको नेतृत्व एकीकृत नेकपा(माओवादी)लाई दिने दलहरुबीच अनौपचारिक सहमति भइसकेको छ ।

यस्तै, अभिलेख अध्ययन तथा निक्र्यौल समितिका सभापति नेकपा(एमाले)लाई दिने आन्तरिक सहमति भएको छ । संविधान मस्यौदा समितिको सभापति भने नेपाली काँग्रेसलाई दिने दलहरुबीच आन्तरिक सहमति भएको छ । ती समितिमा क्रमशः डा. बाबुराम भट्टराई, विष्णु पौडेल र रामचन्द्र पौडेललको नाम चर्चामा रहेको छ ।

त्यस्तै, बाँकी रहेका अन्य दुई समितिमा भने मधेसवादी दल र अन्य साना दललाई दिने भद्र सहमति प्रमुख तीन ठूला दलबीच भएको बुझिएको छ ।

ती समितिमा क्षमता अभिवृद्धि र जनसम्बन्ध समिति रहेका छन् । संविधानसभामा २४ सिट रहेको राप्रपा नेपाललाई भने संविधानसभा अन्तर्गतका कुनै पनि समितिमा सभापति नपाएको क्षतिपूर्ति सहित व्यवस्थापिका–संसद्मा महत्वपूर्ण समितिको सभापति दिइने बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us