सडक दुर्घटनामा ३७ को ज्यान गयो

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ७:३६ मा प्रकाशित

भन्टियाने, ५ वैशाख – भेन्टियानेमा सडक दुर्घटनामा परी ३७ को ज्यान गएको छ । शुक्रबार त्यहाँका मिडियाले सो जानकारी दिएका छन् ।

प्राप्त समाचारअनुसार लाओसको भेन्टियाने सहरमा हालै सुरु भएको नयाँ वर्षका अवसरको दुई दिनमा नै सडक दुर्घटनामा परी ती व्यक्ति मारिएका हुन् ।

भेन्टियानेको लाओ नयाँ वर्षका क्रममा भएका कार्यक्रमहरुमा ती व्यक्ति मारिएका हुन् । नयाँ वर्ष मनाउने क्रममा ३०३ वटा दुर्घटनाहरु भएका बताइएको छ । ती दुर्घटनामा परी ३७ को ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार ती दुर्घटनामा परी ५४४ जना घाइते भएका छन् । नयाँ वर्षको पहिलो दिन ७८ वटा दुर्घटना भएका बताइएको छ ।

पहिलो दिन भएको दुर्घटनामा परी १६ जनाको ज्यान गएको छ भने १३८ जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने तथा सवारीसाधन सञ्चालनका क्रममा सवारी साधनले सवारी नियमको उल्लङ्घन गर्नेजस्ता कारणले गर्दा ती दुर्घटना बढेका बताइएको छ ।

लाओसमा पछिल्लो तीन महिनामा सडक दुर्घटनाबाट २७६ जनाको ज्यान गएको छ । बितेको तीन महिनामा दुई हजार ५८४ वटा दुर्घटना भएका थिए । भेन्टियानेमा सडक दुर्घटना एक प्रमुख समस्याका रुपमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us