
चितवन, ३ वैशाख – विद्युत प्राधिकरण भरतपुरले बक्यौता नतिर्ने २६ ग्राहकको लाइन काटिएको र विद्युत चोरी गर्ने सात जनालाई पक्राउ गरिएको बताएको छ । चितवनको रत्ननगर र भरतपुर विद्युत वितरण शाखाले छुट्टाछट्टै रुपमा विद्युत चोरी नियन्त्रण र बक्यौता असुल अभियान सञ्चालन गरेको र सोही क्रममा कारवाही गरिएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिए ।
नियन्त्रण अभियानका कारण चुहावटमा ५० प्रतिशतले कमीआएको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दावी गरेको छ । सो अभियानबाट प्राधिकरणले अघिल्लो वर्षको करिब डेढ करोड बक्यौता उठाएको छ । अघिल्लो वर्ष २६ प्रतिशत चुहावट रहेकोमा अहिले झरेर १३ प्रतिशतमा आएको कार्यालयका प्रवक्ता पण्डितले जानकारी दिए ।
उनका अनुसार २०७१ सालको सुरुवातदेखिनै चोरी नियन्त्रण अभियान तीव्रताका साथ अघि बढाइएको छ । आज प्राधिकरणको १९ जना, सशस्त्र प्रहरी १७ र जनपद प्रहरी ११ जना चोरी अभियान नियन्त्रणमा खटिएका थिए । सो क्रममा भरतपुरका एक, शिवनगरका एक, पार्वतीपुरका एक, शुक्रनगरका एक र पटिहानीबाट तीन जनालाई पक्राउ गरिएको हो ।