प्राध्यापक आन्दोलन स्थगित

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख –  त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले त्रिवि प्राध्यापकको वृद्धि गरिएको तलब तीनहप्ताभित्र पाउने लगायत सत्रबुँदे माग पूरा हुने सहमति भएपछि दुई महिनादेखि गर्दै आएको आन्दोलन स्थगित गरेको छ ।

सङ्घले आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गरी त्रिवि प्राध्यापक सङ्घले राखेका मागहरु त्रिभुवन विश्वविद्यालयले पूरा गर्ने प्रतिबद्धता लिखित रुपमा जनाएपछि आन्दोलन स्थगित गरेको जानकारी गरायो ।

सङ्घका सभापति योगेन्द्रनारायण बडबरियाले त्रिविले प्राध्यापकका माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएको हुनाले आन्दोलन स्थगित गरेको उल्लेख गरे ।

त्रिविले प्राध्यापकको वृद्धि भएको तलब आगामी तीन हप्ताभित्र पाउने, उपप्रशिक्षक लगायत बाँकी पदका विज्ञापन आगामी दुई हप्ताभित्र त्रिवि सेवा आयोगमा पठाइने, नेपाल सरकारबाट एक हजार ३८० शिक्षण सहायक करार सेवाको कोटा दिइएकोमा ९०० लाई उपप्राध्यापकको दरबन्दीमा परिणत गर्ने लगायतका मागहरु रहेका थिए ।

सङ्घले त्रिवि मुख्य प्रवेशद्वारमा गत फागुन १ गतेदेखि धर्ना, रिले अनशन बस्दै वैशाख २ गतेबाट आमरण अनशनको घोषणा गरेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us