खोजी कार्य ध्वनी संकेततिर केन्द्रित

काठमाण्डु टुडे २०७० चैत २४ गते ३:५१ मा प्रकाशित

वेपत्ता भएको मलेसियाली विमानको खोजीको नेतृत्व गरिरहेको अस्ट्रेलियाली आयोगले खोजीमा जुटेका विमान र पानीजहाजलाई दक्षिणी हिन्द महासागरस्थित चिनिंया पानीजहाजले शनिबार पत्ता लगाएको दुइवटा ध्वनी संकेततिर केन्द्रित गरेको जनाएको छ।

अस्ट्रेलियाली अधिकारीहरुले चीनले पत्ता लगाएको संकेतहरु महत्वपूर्ण र उत्साहजनक भए पनि त्यसलाई विमानको ब्याल्क बक्सबाटै आएको भन्नेमा निश्चिन्त हुन नसकिएकोले त्यसबारे सावधानी अपनाउन भनेका छन्।

अस्ट्रेलियाको नौसेना सहितको पानीजहाजले पर्थ सहरको पश्चिममा पर्ने महासागरमा ब्ल्याक वक्सबाट अपरिचित ध्वनी तेस्रोपटक सुनेको थियो।

उक्त ब्ल्याक बक्सको ब्याट्री ३० दिनपछि कमजोर हुँदै जाने भएकोले त्यस अगावै पत्ता लगाउन सकियोस् भनेर खोजी कार्यलाई तीब्र बनाइएको हो।

२ सय ३९ जना लिएर मलेसियाबाट चीनतर्फ उडेको विमान २८ दिनदेखि हराइरहेको छ।

अस्ट्रेलियाको खोजी दलका संयोजकले चिनिंया पानीजहाजले शनिवार पत्ता लगाएको पहिलो विद्युतिय संकेतपछि केही घन्टाभित्रै फेरी दोस्रो विद्युतिय संकेत पाएको बताएका छन्।

हवाइ सेनाका चिफ मार्सल एंगस हस्टनले दक्षिणी हिन्द महासागरबाट आएको भनिएको उक्त संकेत महत्वपूर्ण र उत्साहजनक भएको बताएका छन्।

शनिवार दोस्रोपटक ध्वनी ९० सेकेन्डको लागि सुनिएको चिफ मार्सलले बताएका छन्।

तर उक्त संकेतका तथ्यहरु प्रमाणित भइसकेका छैनन्।

ब्रिटिस नौसेना सहितको पानीजहाज थप अनुसन्धानका लागि त्यसतर्फ गइरहेको छ।

सोमबार सबेरै उक्त ध्वनीसहितको संकेत फेरी आउने अपेक्षा गरिएको छ।

एस्ट्रेलियाली विमान पनि खोजीमा त्यतै रहेको चिफ मार्सल एंगेस हस्टनले संवाददाताहरुलाई भनेका छन्।

यो पानीजहाजमा चिनिंया पानीजहाजमा भन्दा उच्चस्तरको विद्युतिय उपकरण जडान गरिएको छ।

खोजीमा जुटेका एचएमएस इको र एडिभी ओसन सिल्डमा पानी मुनिको संकेत पत्ता लाग्ने प्रविधि जडान गरिएको छ।

बेपत्ता भएको विमान हिन्द महासागरमा खसेको अनुमान अनुसन्धानकर्ताहरुले गरेका छन्।

यद्यपी त्यसको कुनै भग्नावशेष अहिलेसम्म भेटिएको छैन।

खोजी कार्यको संयोजन गरिरहेका अधिकारीले आफूहरु खोजीका लागि विशाल महासागरमा जुटिरहेको र त्यसलाई निश्चित क्षेत्रमा ल्याउन कम आधारहरुमात्रै भेटिएको बताएका छन्।

उनले कुनै पनि विश्वसनीय आधार भेटेपछि त्यसको अनुसन्धानलाई निरन्तरता दिने विषयमा विश्वस्त रहन भनेका छन्।

दर्जन भन्दा बढी सेनाको जहाज र त्यति नै पानीजहाज अस्ट्रेलियाको पर्थ सहरबाट करिब १३ सय माइल परसम्म खोजीको लागि प्रयोग भइसकेका छन्।

तिनीहरुले खोजीकार्यलाई आइतबारसम्म करिब २ लाख १६ हजार किलोमिटरमा विस्तार गर्नेछन्।

अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोटले शनिबार पत्ता लागेको संकेत हराइरहेको विमानकै हो भन्नेमा आशावादी भए पनि निश्चिन्त नभएको बताएका छन्। संकेतको आधारमा लगातार खोजि कार्य जारी भए पनि अहिलेसम्म विमानको भग्नावशेष फेला पर्नसकेको छैन । BBC

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us