अखिल क्रान्तिकारीको नेतृत्वमा क–कसको होडबाजी ?

काठमाण्डु टुडे २०७० चैत १९ गते ४:३० मा प्रकाशित

flag of akhil- krantikariकाठमाण्डु, १९ चैत– १९ औँ राष्ट्रिय सम्मेलन आउन केही दिन मात्र बाँकी छँदा एकीकृत माओवादीसम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि आकांक्षीहरुको दौडधुप तीव्र भएको छ ।

भावी अध्यक्षका लागि उपाध्यक्षद्वय जागृत रायमाझी र रमेश मल्ल तथा महासचिव विन्दमान विष्टले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।
यस्तै महासचिवमा सचिवहरु अनिल शर्मा, नरेन्द्र न्यौपाने, रामचन्द्र अधिकारी, रञ्जित तामाङ र डिबी तामाङको दाबी छ ।
दीपक देवकोटा, सुरेन्द्र बस्नेत, मदन चुडाल, गोपाल न्यौपाने, रमेश धामी, गंगाराम तिमल्सिना, पञ्चा सिंह, तिलक भण्डारी, राजु आले, पुरण केसी र नेता बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई सचिवका लागि दौडधुप गरिरहेका छन् ।
स्रोतका अनुसार अध्यक्ष हिमाल शर्मा उपाध्यक्ष रायमाझीलाई नेतृत्व दिनुपर्ने पक्षमा छन् । त्यसका लागि उनले नेताहरुसँग लविङसमेत गरिरहेको स्रोतले बतायो ।
विद्यार्थीहरुका बीचमा भावी नेतृत्व र नेतृत्व चयन प्रक्रियाबारे बहस सुरु भएको छ । पार्टीका शीर्ष नेता सहमतिमै नेतृत्व चयनको मुडमा छन् ।
तर विद्यार्थीहरु टिके प्रथाले संगठन कमजोर भएको भन्दै निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने अडानमा छन् । अध्यक्षका दाबेदारमध्ये रायमाझी प्रष्टवक्ता मानिन्छन् । भाषणकला राम्रो भएका रायमाझी संगठनमा भने कमजोर छन् ।
भाषणमा उनलाई काँग्रेसका गगन थापासँग तुलना गर्नेहरु धेरै छन् । तत्कालीन एकता केन्द्र मसालसँगको एकता प्रक्रियाबाट आएका उनी लेखनाथ न्यौपाने र हिमाल शर्माको कार्यकालमा दूईपटकसम्म उपाध्यक्ष भएर काम गरे ।
आफूलाई अध्यक्ष बनाउनकै लागि पार्टीले दुई कार्यकाल उपाध्यक्षमा राखेको दाबी उनको छ । ‘अध्यक्षका दाबेदारमध्ये म ‘सिनियर हुँ’, रायमाझीले निकटकाहरुसँग भन्ने गरेका छन्, ‘अध्यक्ष नदिने भए किन दुई कार्यकाल उपाध्यक्षमा राखेको ?’
विद्यार्थी तताउने भाषण गर्न जानेको भए पनि संगठनमा कमजोर रहेको र पूर्वसमूहमा मात्र रमाउने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।
रायमाझीले माओवादी आन्दोलनको गुमेको प्राधिकार फर्काउने जिम्मेवारी विद्यार्थी संगठनको काँधमा आएको र आफूले उक्त जिम्मेवारी पूरा गर्न सक्ने दाबी गरे ।

‘चीनपछि माओवादी आन्दोलनको प्राधिकार नेपाल हो, पछिल्लो समय त्यो गुम्दै गएजस्तो भएको छ’, रायमाझीले भने, ‘माओवादी आन्दोलनको प्राधिकार नेपाल हो भन्ने स्थापित गराउने जिम्मेवारी हामी विद्यार्थीको हो ।’
अध्यक्षका अर्का दाबेदार मल्लमाथि समन्वयवादीको आरोप लाग्ने गरेको छ । दिनानाथ शर्मा शिक्षामन्त्री भएका बेला पीए बसेकामा विद्यार्थी वृत्तमा उनको अहिले पनि आलोचना हुने गरेको छ । यद्यपि मल्लले आफूले पार्टीले खटाएको जिम्मेवारी पूरा गरेको बताउने गरेका छन् ।
मल्लले विद्यार्थी आन्दोलनलाई पुनर्जिवित बनाउन, विद्यार्थी आन्दोलनको औचित्यमाथि माथि उठेको प्रश्नको जवाफ दिन, राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धी रक्षा, शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचार अन्त्य तथा शिक्षामा आमजनताका छोराछोरीको पचुँह स्थापित गर्न नेतृत्व आफूले पाउनुपर्ने बताए ।

‘विद्यार्थी आन्दोलन रक्षात्मक अवस्थामा छ’, मल्लले भने, ‘यसलाई पनुर्जीवन दिन र राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गराउन सडकको भूमिका नसकिएका कारण विद्यार्थी आन्दोलनको औचित्य छ भन्ने स्थापित गर्न पनि विद्यार्थी संगठनको नेतृत्व मैलै पाउनुपर्छ ।’
अध्यक्षका अर्का दाबेदार विष्ट संगठनमा बलिया मानिन्छन् । संगठन परिचालनमा पोख्त भएर पनि बाहिर नआउने उनको स्वभावलाई भने विद्यार्थीले रुचाउने गरेका छैनन् ।
स्रोतका अनुसार विष्ट अन्तिममा मल्ललाई छोड्ने मनस्थितिमा छन् । त्यसबारे मल्लसँग उनको धेरै चरणमा कुरा पनि भएको छ ।
क्रान्तिकारीको १९ औं सम्मेलन आगामी २१ चैतमा काठमाण्डुमा उद्घाटन हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us