डढेलोले सय हेक्टर वन सखाप

काठमाण्डु टुडे २०७० चैत १९ गते ४:१८ मा प्रकाशित

aaaagoदाङ, १९ चैत – गर्मीयामसँगै जिल्लाका वनमा डढेलो लाग्न सुरु भएको छ । झन्डै एक हप्तादेखि सामुदायिक र राष्ट्रिय वन गरेर झन्डै १०० हेक्टर वन नष्ट भएको छ ।
देउखुरीको सिसहनिया–७ को देवकी सामुदायिक वनमा यसैसाता लागेको डढेलोबाट दुई हेक्टर क्षेत्रफल वन नष्ट भएको छ ।

त्यसैगरी सोनपुर–५ स्थित त्रिशक्ति सामुदायिक वनमा चैत १५ र १६ गते दुई दिनसम्म लागेको डढेलोले करिब ३० हेक्टर वन सखाप भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

सोनपुरकै ७ र ८ वडाका बराहा क्षेत्र सामुदायिक वनमा चैत १५ र १६ गते लागेको डढेलोले ३० हेक्टर वनजङ्गल नष्ट गरेको छ । सोनपुरकै ४ र ५ वडामा १६ गते लागेको डढेलोले ४० हेक्टर वन नष्ट भएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत धरणीधर चौधरीले जानकारी दिए  ।

लक्ष्मीपुर–१ स्थित डाँफे सामुदायिक वनमा आइतबारदेखि सुरु भएको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबारसम्म झन्डै १०० हेक्टर वन नष्ट भइसकेको वन कार्यालयले जनाएको छ । उपभोक्ता र जिल्ला वन कार्यालयमार्फत डढेलो नियन्त्रणको प्रयास भइरहे पनि भौगोलिक विकटताको कारण केही स्थानमा डढेलो नियन्त्रणमा समस्या भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ । दाङको सिसनिया, सोनपुर र लक्ष्मीपुर गाविसका विभिन्न स्थानमा अहिले पनि आगो लागिरहेको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us