
काठमाण्डु, १९ चैत – एकीकरणलाई अन्तिमरुप दिन तीन मधेश केन्द्रीत दलको बैठक आज बस्दैछ ।
संविधानसभामा पराजित भएपछि महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टी, उपेन्द्र यादब नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको नेपाल सद्भावनापार्टीबीच एकीकरणका लागि प्रयास भैरहेको छ ।
बैठक तमलोपाको पार्टी कार्यलय बिजुलीबजारमा दिउसो २ बजेपछि बस्न लागेको नेताहरुले जानकारी दिएका छन् । बैठकमा पार्टीको नाम र नेताहरुको कार्यबिभाजनका बिषयमा छलफल हुने छ ।
कार्यविभाजनमा सहमति हुन नसक्दा एकीकरण प्रयास लम्बिएको थियो ।
यसैबीच तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष बनाउन तीन मधेशकेन्द्रीत दलहरु सहमत भएका छन् । सहमतिअनुसार संसदीय दलका नेतामा उपेन्द्र यादब र संगठन प्रमुखको जिम्मेवारी राजेन्द्र महतोले सम्हाल्ने भएका छन् ।
शीर्ष तीन नेताको कार्यविभाजनमा सहमति भए पनि अन्य नेताहरुले कार्यविभाजन र पार्टीको नाममा असन्तुष्टी जनाएपछि एकीकरण हुन सकेको छैन । विवादित विषयमा सहमति गरिे केहि दिनमै पार्टी एकिकरण हुने नेताहरुले दाबी गरेका छन् ।