नेमकिपाको महाधिवेशन चैत २१ बाट काठमाण्डुमा

काठमाण्डु टुडे २०७० चैत १८ गते १३:२५ मा प्रकाशित

narayan man bijukchheकाठमाण्डु, १८ चैत – नेपाल मजदुर किसान पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन यही चैत २१ गतेबाट सुरु हुने भएको छ ।

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी नेमकिपाले महाधिवेशन चैत २१ देखि २३ गतेसम्म काठमाण्डुमा हुने जानकारी दिएको हो ।

आफ्नो पार्टीको तत्कालीन उद्देश्य जनताको प्रजातन्त्र भएपनि समाजवाद हुँदै साम्यवादमा पुग्ने दीर्घकालीन उद्देश्य भएको नेमकिपाले जनाएको छ ।

संविधानसभाबाट समाजवाद उन्मुख नयाँ संविधान निर्माण गर्न पार्टी निरन्तर लागि रहेको सो पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विधारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा पार्टीले अङ्गिकार गर्दै आएको जनाउँदै पार्टीले सन् १९५० को असमान सन्धिको खारेजी, निजीकरण गरिएका उद्योगहरुको पुनः सार्वजनिकीकरण, विदेशी एकाधिकार पुँजी र साम्राज्यवादको विरोधलाई महाधिवेशनमा मुख्य मुद्दा बनाइएको विज्ञप्तिमा उल्लिखित छ ।

कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले संसदीय व्यवस्था व्यवहारमा असफल भइसकेको हुँदा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र संसद सदस्य मन्त्री बन्न नपाइने बन्दोबस्त नेपालका लागि बढी व्यवहारिक हुने बताए ।

पार्टीको बन्दसत्रमा ५० जिल्लाका ३५० प्रतिनिधि तथा पर्यवेक्षकले भाग लिने तथा उनीहरुले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us