भियतनामी सुरक्षामन्त्री नेपाल आउँदै

काठमाण्डु टुडे २०७० चैत १८ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, १८ चैत – भियतनामका सार्वजनिक सुरक्षामन्त्री ट्रान डाई क्वाङ नेपालका तीन दिने सद्भावना भ्रमणमा २७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार काठमाण्डु आउने भएका छन् ।

नेपाल र भियतनामबीच विद्यमान सम्बन्ध अझ सुदृढ तुल्याउन, अन्तरदेशीय सुरक्षा सहयोग विस्तार तथा लुम्बिनीको विकासमा सहायताका सम्भावना पहिल्याउन मन्त्री ट्रान नेतृत्वको टोली नेपाल भ्रमणमा आउन लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री एवम् रक्षामन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र सुरक्षा निकायका उच्च अधिकारीहरुसँग भियतनामी प्रतिनिधिमण्डलले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलमा नेपालका लागि भियतनामका गैरआवासीय राजदूत नुयेन थान टान पनि हुनुहुन्छ । नेपाल र भियतनामबीच २०३२ सालमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us