सभामुखले सांसदहरुलाई फेरि भने, ‘बैठकमा मोबाइल प्रयोग नगर्नुस्’

काठमाण्डु टुडे २०७० चैत १८ गते ११:४८ मा प्रकाशित

subash nembangकाठमाण्डु, १८ चैत – व्यवस्थापिका–संसद्को मंगलबार बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले बैठक सुरु भएपछि बैठक कक्षमा मोबाइल फोन प्रयोग नगर्न सांसदलाई पुनः ध्यानाकर्षण गराएका छन् ।

शून्य समय सञ्चालन भइरहेका समयमा केही सांसद फोनमै व्यस्त भएपछि सभामुखले सांसदलाई सो आग्रह गरेका हुन् ।

यसअघि पनि उनले सांसदलाई बैठक सञ्चालन भइरहेका समयमा मोबाइल प्रयोग नगर्न ध्यानाकर्षण गराए । संसद् नियमावलीका अनुसार बैठकमा मोबाइल फोन प्रयोग गर्न पाइँदैन ।

साहबारे सरकारको ध्यानाकर्षण
व्यवस्थापिका–संसद्को मंगलबार बैठकमा सभामुखले सांसद सञ्जयकुमार साहका बारेमा व्यवस्थापिका–संसद्को बैठकमा प्रश्न उठेको छ, यसको यथार्थ कुरा के हो, भन्नेबारे सदनलाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराए ।

बैठक सुरु हुनेबित्तिकै लक्ष्मणलाल कर्णले सांसद साहलाई के अभियोगमा पुर्जी जारी गरिएको हो भन्नेबारे गृहमन्त्रालयसँग जवाफ मागेका थिए ।

सहानाको उपचार माग
बैठकमा सांसदहरुले नेपाली महिला आन्दोलनको अग्रणी व्यक्तित्व साहना प्रधानको स्वास्थ्य गम्भीर बनेकाले उनको उचित हेरचाह र उपचारको प्रबन्ध मिलाउन माग गरे ।
संविधानसभामा सरकारले मनोनयन गर्ने २६ स्थानमा कम्तीमा ५० प्रतिशत महिलालाई प्रतिनिधित्व गराउन पनि माग उनिहरुको माग थियो ।

ऊर्जा सङ्कटकाल घोषणा माग
साथै बैठकमा सांसद काशीनाथ अधिकारीले ऊर्जा सङ्कट समाधान गर्न ऊर्जा सङ्कटकाल घोषणा गरी विद्युत् उत्पादन, प्रसारण र लगानीमा वृद्धि गर्न माग गरे ।

यस्तै सांसद हितराज पाण्डेले द्वन्द्वकालीन समयका घटनालाई पीडितलाई न्याय दिन सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोग गठनमा ढिलाइ गर्न नहुने धारणा राखे ।

सांसद अग्निप्रसाद सापकोटाले विभिन्न माग राखी आन्दोलनमा रहेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको माग सम्बोधन गरी पठनपाठन सुचारु गर्नका लागि ध्यान दिन आग्रह गरे ।

यस्तै सुजाता कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयलाई व्यवस्थित बनाउनका लागि कार्ययोजना ल्याउन माग गरिन् ।

कमल थापाले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न र संसद्लाई शीर्ष राजनीतिक दलको रबर स्टाम्प नबनाउन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us