महिलामाथि हुने हिंसाका मुद्दा बढ्दै

काठमाण्डु टुडे २०७० चैत १८ गते ८:५७ मा प्रकाशित

rapeeबनेपा, १८ चैत – जिल्ला अदालत काभ्रेमा महिलामाथि हुने विभिन्न हिंसासम्बन्धी मुद्दा बढ्दै गएका छन् । यी मुद्दामध्ये जबर्जस्ती करणी (बलात्कार) को मुद्दा सबैभन्दा बढी रहेको जिल्ला अदालत काभ्रेले जनाएको छ ।

गलत कार्य गर्नेलाई सजाय दिलाउनुपर्छ भन्ने भावना र महिलामा भएकोे चेतनाको विकासले मुद्दा बढेका हुन् सक्छन् जिल्ला अदालतका श्रेस्तेदार हीरण्यप्रसाद भण्डारीले भने ।

जिल्ला अदालतका अनुसार आर्थिक वर्ष ०७०/०७१ मा सम्बन्ध विच्छेदसम्बन्धी २६ वटा मुद्दामा तीन वटा फैसला भएको, बलात्कारसम्बन्धी १५ वटा मुद्दामा ११ वटा फैसला भएको र बहुविवाहसम्बन्धी चार वटा मुद्दामा तीन वटा फैसला भएको छ । बोक्सीको आरोपमा दर्ता भएको एउटा मुद्दा भने फैसला भएको छैन ।

त्यस्तै आर्थिक वर्ष ०६९÷०७० मा सबैभन्दा बढी सम्बन्ध विच्छेदसम्बन्धी ९९ वटा मुद्दा परेका थिए । तीमध्ये ७३ वटा फैसला भएको छ ।

ग्रामीण क्षेत्रमा रहेका महिलामा देखिएको सचेतता र स्थानीय महिला अगुवाका कारणले नै महिलाले दोषीलाई दण्डित गर्न अदालत जाने सकारात्मक सोचको विकास भएको हो, महिला अधिकारकर्मी माया वादेले भने ।

सरकारी वकिलको कार्यालय काभ्रेका जिल्ला न्यायाधीवक्ता अच्युत न्यौपानेले कतिपय मुद्दा अदालतमा पुगिसेपछि महिलाले पश्चताप मान्ने गरेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us