
काठमाण्डु, १८ चैत – शिक्षा ऐनमा व्यवस्था भएका कुरालाई नियमावली बनाएर लागू गर्नुपर्ने मुख्य मागसहित रिले अनशनमा बसेका शिक्षकको आन्दोलन १०३ दिनसम्म निरन्तर जारी छ ।
पालैपालो १०३ दिन २४ घन्टे रिले अनशन बस्दा पनि सम्बन्धित निकायको ध्यान जान नसकेको र कुनै चासो नदेखाइएकोप्रति अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले दुःख व्यक्त गर्दै भने, ‘अस्थायी शिक्षकको माग जबसम्म सम्बोधन हुँदैन, तबसम्म निरन्तर आन्दोलन जारी रहने छ ।’
सो अनशन गत पुस ३ गतेदेखि सो अनशन सुरु भएको हो । आफूहरुसँगको कुराकानीमा शिक्षामन्त्रीले अस्थायी शिक्षकको समस्याबारे आफूलाई अवगत रहेको भनी समाधानका लागि पहल गर्ने आश्वासन दिए पनि कुनै पहल नगरिएको समितिका अध्यक्ष कुँवरको भनाइ थियो ।
सामुदायिक विद्यालयको रिक्त दरबन्दीमा लामो समयदेखि शिक्षा ऐन तथा नियमावलीमा उल्लिखित प्रक्रिया पूरा गरी अस्थायी शिक्षक कार्यरत रहेको उल्लेख गर्दै अध्यक्ष कुँवरले अस्थायी शिक्षकलाई आन्तरिक प्रक्रिया पूरा गरी स्थायीको प्रक्रियामा लैजाने र सेवानिवृत्त हुन चाहने पाँच वर्ष वा सोभन्दा बढी अवधि अस्थायी रुपमा काम गरेका शिक्षकलाई तोकिएबमोजिमको सुविधा दिने व्यवस्था शिक्षा ऐन रहेको बताए ।
अनशनमा ३८ जिल्लाका २९७ जना अस्थायी शिक्षक सहभागी भइसकेको बताउँदै अस्थायी शिक्षक आन्दोलन जिल्ला समिति भक्तपुरका उपाध्यक्ष एवम् अनशनकारी हरिबहादुर श्रेष्ठले कुनै पनि बहानामा अस्थायी शिक्षकलाई हटाउन नहुने र शिक्षा नियमावलीबाट करार शिक्षकको व्यवस्था खारेज गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।
अनशनमा काठमाण्डुका सूर्यप्रसाद तिवारी, भक्तपुरका हरिबहादुर श्रेष्ठ, रामेछापका रवीन्द्र तामा, काभ्रेपलाञ्चोकका भक्तप्रसाद मैनालीलगायत शिक्षक सहभागी भइसकेका छन् ।