नेपालले प्रधानमन्त्रीलाई भने, ‘राजनीतिक समितिको नेतृत्व आफैं लिनुस्’

काठमाण्डु टुडे २०७० चैत १८ गते ८:१६ मा प्रकाशित

Madhav-koiralaकाठमाण्डु, १८ चैत । प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच स्थानीय निकायको निर्वाचन, संविधानसभा मातहतका समिति र उच्चस्तरीय राजनीतिक परामर्श समितिको गठनलगायत विषयमा छलफल भएको छ ।

नेता नेपाल एमालेका तर्फबाट निर्वाचित काठमाण्डु र सिन्धुपलाञ्चोकका केही सभासद् सहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्रीलाई भेट्न मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीको जिज्ञासामा वरिष्ठ नेता नेपालले संविधानसभालाई पूर्णता दिने सन्दर्भमा २६ सभासद्को मनोनयन, समिति गठन, स्थानीय निकायको निर्वाचन र उच्चस्तरीय राजनीतिक परामर्श समिति शीघ्रातिशीघ्र गठन गरी संविधानभालाई गति दिनुपर्छ भन्नेलगायत समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

‘उच्चस्तरीय राजनीति परामर्श समितिको अध्यक्षको दाबी सर्वप्रथम प्रधानमन्त्रीले गर्नुपर्छ, त्यो नभए दोस्रो ठूलो दलको नाताले एमालेले पाउनुपर्छ,’ नेता नेपालले भने, ‘एमाओवादीको हुनुपर्छ भन्ने कुरा सम्भव छैन ।’

संविधानसभामा उपस्थित सङ्ख्याको अवस्थालाई ध्यानमा राखेर एकीकृत नेकपा माओवादीले हैसियतअनुसारको मात्र जिम्मेवारीका लागि दाबी गर्नु उचित हुने उनको भनाइ छ ।

‘स्थायी प्रकृतिको नभई आलोपालोका आधारमा हुने भएमा मात्र एमाओवादीले त्यसअनुसारको जिम्मेवार पाउन सक्छ’ नेता नेपाले भने ।

सो अवसरमा नेपालसहितको टोलीले साँखु–नाङ्लेभारे, लप्सीफेदी हुँदै चौतारा बलेफी मार्ग कोदारी राजमार्गको विकल्पसमेत हुने भएकाले त्यसलाई आगामी बजेटमा प्राथमिकताको एक नम्बरमा राखेर बजेट विनियोजन गरिदिन अनुरोध गरेको थियो ।

साथै काठमाण्डु उपत्यका भित्रने नाकामा सवारीको चापलाई घटाउने, कोदारी राजमार्गको विकल्पका रुपमा रहने, ऐतिहासिक महत्व बोकेको उक्त मार्ग निर्माणको आवश्यकता किन छ भन्नेबारेमा नेता नेपालले प्रधानमन्त्रीलाई विस्तृतरुपमा जानकारी गर्र ।

संविधानसभाको निर्वाचनमा काठमाण्डु क्षेत्र नं २ बाट निर्वाचित पूर्वप्रधानमन्त्री नेपालले साँखु, बज्रयोगिनी, लप्सीफेदी र नाङ्लेभारे क्षेत्रका सडक विस्तारका लागि रकम विनियोजनका लागि सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । नेता नेपालका साथमा सभासद् रामेश्वर फुँयाल, शेरबहादुर तामाङलगायत सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us