अझै बुझाएनन् उम्मेदवारले खर्च विवरण

काठमाण्डु टुडे २०७० चैत १८ गते ४:२२ मा प्रकाशित

बेलौरी, १८ चैत– मतगणना सम्पन्न भएको ३५ दिनभित्र निर्वाचन खर्च बुझाउने प्रावधानअनुसार संविधानसभा निर्वाचन भएको पााच महिना भइसक्दा पनि कञ्चनपुरका केही उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छ्रैनन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट भाग लिएका २९ उम्मेदवारमध्ये ६ जना उम्मेदवारले अझैसम्म पनि खर्च विवरण नबुझाएका हुन् ।

खर्च विवरण नबुझाउनेमा सद्भावना पार्टीका रामकिसन राना, अखण्ड सुदूरपश्चिम पार्टीका अम्बादत्त जोशी, पुस्करराज जोशी (लख्खा भाइ), शिवसेना नेपाल पार्टीका वीरबहादुर राना, समाजवादी पार्टीका धिरेन्द्रबहादुर महरा र स्वतन्त्र उम्मेदवार मोहनलाल राना रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका निमराज भट्टराईले अहिलेसम्म २३ जना उम्मेदवारले खर्च विवरण बुझाइसकेको बताए । उनका अनुसार खर्च विवरण नबुझाउने उम्मेदवारमध्ये अधिकांश जिल्लाको दक्षिणी क्षेत्र तथा निर्वाचन क्षेत्र नम्बर १ का छन् ।

 ग्रामीण क्षेत्रका अधिकांश उम्मेदवारलाई खर्च विवरण बुझाउनेसम्बन्धी जानकारी नभएकाले पनि ढिलाइ भएको हुन सक्ने निर्वाचन अधिकारी भट्टराईको भनाइ छ ।

निर्वाचन आयोगको नियमानुसार निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण नबुझाए निर्वाचनमा गरेको खर्च आयोगले निर्धारण गरेको खर्च मापदण्डमा जुन बढी हुन्छ, सोही बराबरको जरिवाना हुन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us