
काठमाण्डु, १८ चैत – जिल्ला अदालत काठमाण्डुले नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक, प्रबन्ध सम्पादक र दुई पत्रकारलाई कैद सँजाय र जरिवाना सुनाएको छ। पाठकलाई कुटपिट गरेको भन्दै परेको उजुरीका आधारमा उनीहरुलाई कैद र जरिवाना सुनाएको हो ।
काठमाडौं महानगपालिका वडा नं २० घेराउ सम्बन्धि समाचारको खण्डन छाप्न गएका डिल्ली खड्कीलाई कुटेर नाक भाँचिदिएको ठहर गर्दै सँजाय र जरिवानाको फैसला सुनाएको हो ।
फैसलापछी कारबाहीमा पर्नेहरुमा प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, उनका छोरा प्रवन्ध सम्पादक दिरेकलाल श्रेष्ठ, कामना मासिकका सम्पादक विदुर गिरी र वरिष्ठ सम्वाददाता दिपक रिजाल रहेका छन । उनीहरुलाई जनही ६ महिना कैद र २हजार २ सय जरिवानाको फैसलाअदालतले गरेको छ ।
जिल्ला न्यायाधीश इन्द्रबहादुर कार्कीको इजलासले गत माघ २ गते उनीहरुलाई कैद र जरिवानाको फैसला सुनाएको हो। अदालतले चारै जानालाई ‘कुटपिट गरेबापत २ हजार रुपैयाँ जरिवाना र हुलहुज्जत गरेकाले थप २ सय सँजाय गरेको हो।
२०६८ साल मंसीर १३ गते समाचारपत्र दैनिकले ‘वडा कार्यालय घेराउ’ शीर्षकको समाचार छापेको थियो। सोहि दिन दिउँसो ४ बजे खड्की समाचारको खण्डन गर्न समाचारपत्र दैनिकको कार्यालय जाँदा वादविवाद भएको थियो।
प्रधान सम्पादक श्रेष्ठको इशारामा छोरा दिरेकलाल सहितले आफूलाई कुटेको भन्दै खड्गीले फिरादपत्र दायर गरेका थिए। उनको फिरादमा सांघातिक आक्रमण गरि नाकको हड्डी भाँचिदिएको उल्लेख थियो।
उनीहरुले आफूलाई आक्रमण गरि मुलुकी ऐन कुटपिटको महलको १ र ५ विपरित कसुर गरेको खड्गीको दाबी थियो। खड्कीले तत्कालिक सम्पादक कपिल काफ्लेलाई पनि विपक्षि बनाएका थिए। अदालतले काफ्लेलाई सफाई दिएको छ।