हिम्मत भए प्रचण्ड, बाबुराम र मलाई जेल हाल : वैद्य

काठमाण्डु टुडे २०७० चैत १७ गते १५:४४ मा प्रकाशित

दैलेख, १७ चैत– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले द्वन्द्वकालीन मुद्धाका आधारमा आफ्ना कार्यकर्ता पक्राउ गरिएकामा mohan-baidyaआपत्ति जनाएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले दैलेखमा सोमबार गरेको पत्रकार भेटघाटमा वैद्यले फिरफ्तारी र मुद्धा लगाउने काम रोक्न सरकारसँग माग गरे । उनले कार्यकर्तालाई नभई जनयुद्धको नेतृत्व गरेका प्रचण्ड, बाबुराम र आफूलाई जेल हालेर देखाउन चुनौती दिए ।

‘जनयुद्धको नेतृत्व प्रचण्ड, म र बाबुरामले गरेका हौं’, वैद्यले भने, ‘सोझा कार्यकर्तालाई होइन हिम्मत भए हामीलाई मुद्धा लगाऊ ।’ न्याय दिलाउने काममा माओवादी नेता कार्यकर्तालाई मात्र मुद्धा लगाउने र थुन्ने गरिएको भन्दै वैद्यले आपत्ति जनाए ।

उनले विस्तृत शान्ति सम्झौता भंग भइसकेकाले नयाँ आधारमा अर्को सहमति गरिनुपर्ने बताए । वैद्यले दुई माओवादी मिल्न नदिने षड्यन्त्र भइरहेको उल्लेख गरे । दुई पार्टीबीच तत्काल एकता सम्भव नरहेको वैद्यले प्रष्ट्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us