
काठमाण्डु, १७ चैत – नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई नियमितरुपमा तिर्नुपर्ने रकम बुझाउन नसक्दा बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।
आयल निगमका अनुसार मार्च ३१ (आजसम्म¬) भुक्तानी गर्नुपर्ने चार अर्ब बुझाउन नसक्दा आइओसीले नेपाल आउने २० देखि २५ प्रतिशत पेट्रोलियम पदार्थ कटौती गरेको छ ।
रकम बुझाउन नसक्दा सांकेतिक रुपमा तेलको कटौती गरिएकाले बजारमा त्यसको प्रत्यक्ष असर परेको हो ।
यस सम्बन्धमा सरकारलाई जानकारी भएपनि अर्थमन्त्रालयबाट रकम निकासा भएको छैन ।
निगमका प्रवक्ता मुकुन्द घिमिरले भने, ‘आइओसीलाई हामीले चाँडो रकम पठाउने प्रतिवद्धता व्यक्त गरेका छौं । पेट्रोलियम पदार्थको कटौती हुँदैन भन्ने विश्वास लिएका छौँ ।’
रक्सौलबाट नियमित रुपमा प्रतिदिन २ हजार ३ सय देखि २ हजार ४ सय किलोलिटर पेट्रोलियम पदार्थ नेपाल आउनुपर्नेमा केही दिनयता प्रतिदिन ८ सय किलोलिटरमात्र आयात हुँदै आएको छ ।
उनले भारतको आर्थिक वर्षको अन्तिम महिना भएकाले पनि नेपाल आयल निगमलाई दबाव परेको उल्लेख गर्दै हालको समस्या चाँडो समाधान हुने विश्वास व्यक्त गरे । रासस